Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Thursday, September 10

उत्तर

म कुर्छु भन्थ्यो
मलाई कुराएर आयो ऊ !
अस्ताउदो सूर्य सँगै
अस्ताउदै थियो मेरो मुहार !
अलिकति रिसाए झै 
रिसमा मुस्कान मिसाए झै !

थांती बसेका अनेकौ मनका भारीहरु
बिसाउनु थियो उस्लाइ 
अलीकती गाजलु आँखाको डीलमा
अनि अलीकति यो मनको बलेसिमा
कतै जीवन बुझाउने चाहनाले
कतै आफुलाइ चिनाउने रहरले !

कालो छ भन्थ्यो आफ्नो भूत उसले
चियाउने कोशिस गर्दै थियो 
मेरो मनको आँखाले 
देख्यो, अं देख्यो सानो प्रकाश 
अध्यारोमा अझलेको उसको अतीतमा पनि 
आखिर रातमै त देखिन्छ जूनको उज्यालो !
त्यों जूनको शीतलता !

उसको बिगत नियाल्न
प्रयासरत  चोइटिएको आफ्नो मनलाइ
आफैले प्रश्न गरें अनि
"के सांचै प्रेम गर्न सकछस् तँ ,
स्विकारेर उसको कक्टेल जीवनलाइ?"
त्यति नै बेला 
म आफ्नो एक मुठी मुस्कान घुट्काउदै थिएँ 

पिँजडा

पुस्तौँ पुस्तादेखि
पिँजडामा बन्द म छोरी
केही वर्षपछि
यो पिँजडाबाट
सरुवा गरिनेछ मलाई।
 
म जान्दिन,
त्यो अझ ठूलो हुन्छ
या यत्तिकै सानो
कि त यो भन्दा अझै सानो।
 
यो पिँजडाबाट त्यो पिँजडामा
सिर्फ सारिन्छ वा, साटफेर गरिन्छ 
तर पक्कै भेट्टाउने छैन मैले
आफ्नो स्वतन्त्रता त्यहाँ पनि।
 
कयौँ सम्बन्ध निभाउनु पर्ने होला
कसैकी पत्नी
कसैकी बुहारी
कसैकी भाउजू
अँ कसैकी आमा पनि
तर अहँ म नितान्त ‘म’ बन्न पाउने छैन।
 
आफ्ना थाँती बसेका रहरहरू
असहाय टुहुरा बनेर छट्पटाउने छन् 
समाजले घेरेर राखेको पर्खाल
आँट र साहस बोकेर नाघ्न मनाही हुन्छ।
 
पटक पटक, हरेक पटक
मेरो बिफलताले मैलाई गिज्जाउने छ
पिँजडाको मालिक
अझ भनौँ त्यहाँको संरक्षक,
‘मेरो समाज’ ले मलाई
बन्द पिँजडामै सजाउने छ।
 
म हाँस्दा उत्ताउली हुन्छु अरे
म नाच्दा अराजक बन्छु अरे
खुलेर बोल्दा चरित्रहिन
बोल्दै नबोल्दा घुसघुसे अरे
थाहा छ किन?
किनकि म छोरी भएर जन्मिएँ अरे।
 
भन ए सभ्यता र स्वतन्त्रताका पुजारी हो !
यो निर्मम पिँजडा भत्काउने कहिले हो?

पहिलो पोस्टमा प्रकाशित मिती ५ असार २०७२
http://www.pahilopost.com/content/-5106.html#sthash.NrNtbWLI.gbpl&st_refDomain=www.facebook.com&st_refQuery=/

Saturday, May 23

आँशुमा अनुदित सहिद

उखुम भीड चिच्याहटले
अचेल ओझेलमा पार्दैछ
नेपथ्यमा बज्दै गरेको
घण्टाघरको
टिङ् टिङ्लाई ।
हजारौ षड्यन्त्र लुकेको
त्यो गोप्य महल
नारायणहिटीले
गिज्याउँदै छ
हाम्रो इतिहासलाई ।
पृथ्वीको शालिक खडा छ
चेतावनी दिँदै
मूकदर्शक छौँ हामी
भुलेर उनको
उपदेशलाई ।
अग्ला महलहरू बिच
छोपिँदै गरेको धरहरा
लुकेर हेर्दैछ
झुक्दै गरेको
हाम्रो स्वाभिमानलाई ।
सहिदगेटका नाङ्गा सहिदहरू
घाँटीमा माला भिरेर
आँखामा आँशु लिई
सम्झदै होलान्
भूपीलाई-
'बनेन मुलुक दुई चार सपुत
मरेर जाँदा नि ।'
नेपालीपत्रमा प्रकाशित मिती : शुक्रबार, 16 माघ, 2071
http://www.nepalipatra.com/news/detail/12551/22

Wednesday, April 8

धुन टुटेको प्रेमगीत

सलेदो सकिएको मैनबत्ती जस्तै
तेल सकिएको दियो जस्तै
धिपधिप धिप्धिपाउने
अधुरो अपुरो रहेछ ऊ त ।

नचाहेरै गएथेँ म प्रेमिल रङ्ग ओर छोडेर
अनौठो एउटा क्यान्भास बोकेर
पोतिदियो अनेकौँ रङ्गले तर
खुद स्यामश्वेत जिन्दगी जिउँदै रहेछ ऊ त ।


आफ्नै सुगन्ध नठम्याउने कस्तुरी बनी
खोज्दै थिएँ प्रेमको सुवास त्यसरी म पनि
भेट्टाएँ त्यहाँ फालिएका धेरै प्रेमका भ्रुणहरू
छ्या दुर्गन्धित दुर्गन्धित रहेछ ऊ त ।      


अनि फर्किएँ त्यहि बाटो एउटा विश्वास लिएर
कल्पनाले रङ्गीन जिन्दगीलाई गिज्याउँदै थियो
स्वीकार्य थियो तितो, नमिठो सत्य पनि
तर, मेरै लागि एउटा मिठो प्रेम मुस्काउँदै थियो ।


सेतोपाटीमा प्रकाशित मिति: बिहीबार, चैत्र २६, २०७१ ०९:४६:३३

http://setopati.com/sahityapati/26711/

Thursday, April 2

निर्दोष भ्रुण

यौवनको प्यासमा लिप्त 
आफ्नो प्रेमको तृष्णा मेट्न 
सम्साझै एक युगल जोडी 
हुर्रिन्छन् हाइवेबाट थोरै पर 
सानो जंगल सानो कटेराे
अनि त्यो अव्यवस्थित प्रेम।

सम्झदैनन् आफ्नो प्रेमको दायरा 
बुझ्दैनन् एक बिन्दुमा पुगेर सकिने सीमा 
नाङ्गिएको आत्मा सँगै नाङगिन्छन् 
आफू आफू एकअर्का सामू 
न त रोक्न सक्छ समाजको बन्धनले 
न त रोक्न सक्छ त्यो अत्तालीएको मनले।

सामाजिक बन्धनलाई तोडेको खुसी, 
आफ्नो तृप्तीको 
नौलो चमक अनि 
सुनौलो स्पर्श बोकेर 
फर्कन्छन्। 

चिन्दैन अविवाहित प्रेम त्यस्ले 
बुझ्दैन आफ्नो अघोषीत बाबुको धोका 
बस् बास बसिदिन्छ त्यो भ्रुण; 
स्वघोषित चोखो प्रेमको सौगातले 
ठम्याउदैन आफ्नी आमाको 
अविकशित पाठेघर। 

अनि, 
ऊ नजन्मिदै, उस्को हत्याको 
षड्यन्त्र रचिन्छ कतै,
ऊ भगवान्ले दिएको वर्दान हुदैन, 
कीन कि ऊ एक चिम्टी सिन्दुरको 
आडले जन्मेको हुदैन। 
ऊ त मात्र आफ्नी आमाको 
गल्तीले हुर्केको भ्रुण हुन्छ। 

म बुझ्दिन,
किन लाञ्छना लगाइन्छ उस्की आमालार्ई
त्यो मात्र उस्की आमाको गल्ती कसरी भयो?
अझ बुझ्दिन,
प्रकृतीले स्वीकारेको सत्य 
गलत कसरी भयो?
ल मानौ त्यसलाई गलत नै 
तर कुन हकले यो समाजले उस्लाई पाप कहलाउँछ?
खै उस्को कुन गल्तीले, ऊ पाप ठहरीन्छ?

सेतोपाटीमा प्रकाशित मिति: मंगलबार, पौष १५, २०७१

http://setopati.com/sahityapati/22105/

मान्छे/पशु

कसरी मार्न सकिस् तैँले 
हाँस्न खोज्ने रहरलाई 
खिलखिलाउँदै नाँच्न खोज्ने पाइलाहरूलाई।

कस्तो प्यास मेटाइस् तैँले 
चुँडाएर पखेटा नि
उड्न खोज्ने पुतलीको। 

कुन खुसीले नङ्ग्याइस् होला 
पत्रपत्र च्याती तैँले 
त्यो कलिलो मुनालाई। 

लागेन र डर तँलाई आफ्नै आत्मासँग 
कुन सन्तुष्टिले मात्तिइस् तँ
छुँदा सानो कोपिलालाई। 

भन् कसरी तँ हाँसिस् हेर्दै
टुक्रिएको आँतसँगै
क्षतविक्षत अङ्गहरूलाई?

तेरो पशुवत् प्रवृत्ति 
ह्वाङ्गै र उदाङ्गै बनिसक्यो
धिक्कार छ मान्छे भित्रको पशुलाई।

सेतोपाटीमा प्रकाशित मिति: मंगलबार, फाल्गुण २६, २०७१

http://setopati.com/sahityapati/25397/

Tuesday, January 27

आमा

धड्कनको चाल मन्द हुँदा
बाँच्ने चाह नै बन्द हुँदा
आफ्नै आँतलाई सुकाएर
नौ महिना कुरीरहिन्
पाठेघरमा लुकाएर ।

कति धामा गरीन् सुन
मलाई अमृत पिलाउन
भरीदिईन् यता, आफू निर्खीएर
गल्दै गइन् अनी किन ?
मलाई हुर्काएर ।

सपना उन्को भविष्य मेरो
बनाइथीन् “ज्ञानी“ बनाउने घेरो
आफ्नै हातले, अक्षर चिनाएर
ती हातलाई लुलो पारीन्
मेरो तङ्राएर ।

अभावको सुगन्ध, कैले चिनीन
जानीनन् किन, उन्ले पीडा दिन
दुःख जिलो, गर्दै पढाएर
आफू उस्तै रहिरहिन्
मलाई बढाएर ।

पार्स्व पिडालाई स्वीकारी
जिवन सँग नहारी
आफ्नै आत्मा भुलाएर
अन्तर शरीर च्याती उन्ले
के पाइन् मलाई जन्माएर ?

सेतोपाटीमा  प्रकाशित मिति: शनिबार, बैशाख ५

http://setopati.com/sahityapati/27062/

Friday, December 19

बिजुली



अचम्मै पो भयो आज खोइ त निभ्या बत्ती
मैन वत्ति नबलेर झेउ लाग्यो अति
सुनेको थेँ भरियो रे पानी टमाटम
अझै पनि झर्दै छ नि पानी झमझम ।

जोगाएर राख्यो अरे तराइको पानी
चाहिए पछि झिक्ने अरे त्यो पानिको खानी
अँध्यारोमै सिक्ने भयौँँ ए, बि, सि, डि हाम्ले
उल्लु जस्तै अध्यारोमा हेर्न सक्छौ हाम्ले ।।

जलस्रोतको धनी राष्ट्र नेपाल नै हो देश
सधै भरी बत्ति जाने यहि हो हाम्रो भेश
आँखा मात्रै अति झिम्काइस काठमाडैको बत्ती
भो भो पुग्यो बल्दै नबल ए बिजुली बत्ती ।।।

२०६४/९/१०

Monday, December 8

किनकी म छोरी भएर जन्मिएँ अरे !

केहि बर्षपछि
यो पिजड़ाबाट
सरुवा गरिनेछ मलाई ।

म जान्दिन त्यों अझ ठुलो हुन्छ
या एतिकै सानो
कि याे भन्दा अझै सानाे ।
तर पक्कै मेरो स्वतंत्रता
भेट्टाउने छैन मैले त्यँहा पनि !

निभाउनु पर्ने हाेला मैले
अनेकौ सम्बन्धहरु
कसैकी पत्नी
कसैकी बुहारी
कसैकी भाउजु
अं कसैकि आमा पनि,
तर अंह 'म' आफ्नो बन्न पाउने छैन
आफ्नो लागि केहि गर्न पाउने छैन ।

समाजले घेरेर राखेको पर्खाल
आंट र साहस बोकेर नाघ्न खोजुला म
तर पटक पटक
हरेक पटक
मेरो बिफलतामा गिज्याउने छ
त्यों पिजडाको मालिक
अझ भनु त्यँहाको संरक्षक,
"मेरो समाजले"मलाई ।

म हाँस्दा उत्ताउलि हुन्छु अरे
म नाच्दा अराजक बन्छु अरे
म खुलेर बोल्दा चरित्रहिन् अरे
बाेल्दै नबाेले घुस्घुसे अरे
थाहा छ किन ?
किनकी म छोरी भएर जन्मिएँ अरे ।

Sunday, November 16

एक तर्फी प्रेम (one-sided Love)

दन्दन् चिता माथि
बल्दै थियो मेरो प्रेम
दहासँस्कार गरीदिएँँ
म खुद एक्लैले देखेको
तिमीसँग को सहकार्यको
अमुल्य सपना ।

अस्थ ब्यस्थ थियो
ईयरपोर्टको माहोल
सुटुक्क ईन्ट्री गेटबाट धकलिदिएँँ
म खुद एक्लैले देखेको
तिमीसँग को सहयात्राको
अमुल्य सपना ।

चियाउदै थियो बस्पार्कमा
त्यो निलो बसबाट
ब्यवास्था गरेर पान्छिएँँ
म खुद एक्लैले देखेको
तिमी सँगको जीवनयात्राको
अमुल्य सपना ।

नअाउनु याद भक्कानिएको बेला
त्यो काखलाई साहारा बनाउने चाहनामा
पुन: जन्म होला
म खुद एक्लैले देख्ने
तिमी सँगको मिठो साथको
अमुल्य सपना ।

Wednesday, September 3

धमिलिएको अतित

गर्दिन प्रेम
स्वार्थमा लुट्पुटिएको
तिम्रो भावनालाई
तिम्रो मनलाई
हो, तिमीलाई ।

लाग्दैन बिश्वास,
अविश्वासले घेरेको
तिम्रो संकुचित सोच
गिरेको मानसिक्ता
अनि देखावटि प्रेमको ।।

आउदैन याद,
सपना देखाई टोड्नेको
बिचैमा साथ छोड्नेको
आशु दिई हिड्नेको
मेरो हांसो छिन्नेको ।।।

प्रश्न गर्छु,
सक्छौ फर्काउन?
अविश्वासले क़ब्ज़ा गरेको बिश्वास
घृणाले घेरीएको प्रेम
अनि धमिलिएको मेरो अतित ???

Tuesday, August 26

निकम्मा जिन्दगी

हस्पिटलको आईसीयुमा
अश्वस्थ अनि अचेत देखिन्छ
बोलाउदा बोल्दैन
खोल्दैन आंखा पनि ।
आवाज निकाल्दै छ
बैज्ञानीक यन्त्रहरुले
सायद शास बाकी रहेको
झिनो आशमा भ्रम फैलाउदै छ
हो, ध्वनि प्रदुषण मात्र.. ।
टम्म मुख थुनिएको
अक्सिजन माक्स
खै शास खोस्दैछ
या त दिदै छ ।
एकापटि एउटा सीसी
रातो तरल पदार्थ
सल्लललल बगेर आउदैछ
टुलुटुलु हरे बस् हेरीरहे ।
सेतो पहिरनमा
एउटा अधबैसी पुरुष
धारिलो चिजको प्रहार
अंह दुखेन ।
जिउदो लाश,
न मुस्काउछ
न त झार्छ थोपा आशु
तिनै बैज्ञानीक यन्त्रहरुसंग
सम्बन्ध गांसेर
भर्पुर आन्नद लिदै छ
निकम्मा जिन्दगी ।

चाहना

छताछुल्ल पोखिएको
खुशीहरु संगालेर
अंजुलीभरी
थुनेर राखुला म ।
छ़्याल्ल ब्याल्ल छन्
मुस्कानहरु समेटेर
हरेक ओठहरुमा
सजाईदिउला म ।
आशु,रुवाई त संकुचित छ
बन्द कोठा भित्र
क्वा क्वा
त्यो बन्दन
खुलाईदिउला म ।
अँ स्वप्न हैन संसार
जिवनका दुई पाटो
सुख अनि दुख
के भो र मिलेर कटाउला
बनेर "हामी" तिमी र म ।

Sunday, August 24

सपना...

सेलायो, सुस्तायो
तर्कियो, टाढियो
झर्कियो, फन्कियो
रिसाएको रैछ
फुर्केन मेरो सपना ।

प्रेमले नियाले
बोलाएं, फकाएं
फुर्काएं, थर्काएं
छाडेर गयो,
फर्केन मेरो सपना ।।

आत्तिएं, रोएँ
कराएँ, चिच्चाएं,
आफैलाई पिटें
थाहा भयो,
उडेछ मेरो सपना ।।।

तर पनि,
बुनिरहे, सांचिरहे
देखिरहे, कल्पिरहे
मन्मनै हांसीरहे
कैले पराई भएन
सुन्दर मेरो सपना ।।।।


Sunday, August 10

अस्तित्वको खोजी


छाम्छाम् छुम्छुम् गर्दै
अचेल म आफ्नैलाई खोजिरहेछु
अकाल्पनिक अस्तित्व
अनि अदृश्य मौजुतलाई खोजिरहेछु
सायद, आफै भाग्दै छु आफै बाट
त्यसैले, छाम्छाम् छुम्छुम् गर्दै
अचेल म आफैलाई खोजिरहेछु

खै शास मात्रै बाकि छ कि
हैन लास भैसके म,
मेरो अदृश्य उपस्थिति
मुस्काउदै होला या
कोलाहल बिच एक्लै रुदै छ
अत्तालिदै, छाम्छाम् छुम्छुम् गर्दै
अचेल म आफैलाई खोजिरहेछु

सपना बाट बिउझे झै
झल्यास्स बिउझिदा महसुस हुन्छ
उस्तै छ कम्पन मुटुको
उस्तै छ ताल परेलीको
अनि बल्ल थाहा हुन्छ
ए म त बाचिरहेछु
तर अझै, छाम्छाम् छुम्छुम् गर्दै
अचेल म आफैलाई खोजिरहेछु ।

मेरो कबिता निधाएछ

न्यानो घामको किरण मुहारमा नपर्दै
शब्दहरुको लाली ओठमा छर्दै
मेरो हरेक भावनालाई चिन्थ्यो
र बिहानै ऊ चिटिक्क पर्दै निस्किथ्यो

म मुस्काउदा मुस्काउने साथी
म रुदा सँगै रुने हो कति जाती
म केबल सम्झिन्थे ऊ बर्सिदिथ्यो
त्यस्मै रुझ्थे म, उसंग प्रेम बस्थ्यो

धेरै समय पछि अतित कोल्टाए
डायरिका पानाहरु पल्टाए
नबोल्ने कसम दिएर कतै रीसाएछ
अनि कतै तिनै कविता मस्त निदाएछ ।

हामी सहंदै जान्छौ

धित् मरुनजेल चलाऊदै जाउ, हामी चल्दै जान्छौँ
अङ अङ गलाउदै जाउ, हामी गल्दै जान्छौँ
आखिर के भो र हामी त एउटा खेलौना हौँ
तिमी खेलाउदै जाउ, हामी खेल्दै जान्छौँ ।

हामी सहदै जान्छौँ , तिमी लुट्दै जाउ
कहिले सम्म रहर मर्दैन, तिमी कुट्दै जाउ
तिमीहरु जुट्दै जाउ, अझै चुप लाग्छौँ
एक एक गर्दौ लुट्दै जाउ
आखिर के भो र हामी त एउटा खेलौना हौँ
तिमी खेलाउदै जाउ, हामी खेल्दै जान्छौँ ।

तिमी जलाउदै जाउ, हामी जल्दै जान्छौँ
हाम्रा हरेक सपनाहरु बाल्दै जाउ, हामी बल्दै जान्छौँ
सक्यौँ भने यदी हाम्ले छल्दै गरौँला
नत्र के तिमी ढाल्दै गर, हामी ढल्दै गरौँला
आखिर के भो र हामी त एउटा खेलौना हौँ
तिमी खेलाउदै जाउ, हामी खेल्दै जान्छौँ ।

अनी फेरी
तिमी अधिकारका कुराहरु सुनाउदै जाउ
चेतनाका एक एक गीत गुन गुनाउदै जाउ
अनी माथि माथि धेरै माथि पुग तिमी
हामी अझै तल पर्छौ तिम्रै कुराहरु सुन्दै जान्छौँ
आखिर के भो र हामी त एउटा खेलौना हौँ
तिमी खेलाउदै जाउ हामी खेल्दै जान्छौँ ।

त्येतिले कहाँ तिम्रो प्यास मेटिएला र
साना साना कोपिलालाई फुल्नै नदेउ
एक एक मुना हरु चुडदै जाउ
अझै चुप लाग्छौँ लाचार भई सहीरन्छौँ
आखिर के भो र हामी त एउटा खेलौना हौँ
तिमी खेलाउदै जाउ हामी खेल्दै जान्छौँ ।

तर जब धैर्यको बाध टुट्छ
आधी सरि उर्लिन्छ अनी ज्वालमुखी झै पड्किन्छ
तब तिमीहरु छुट्टीदै जाने छौ, हामी जुट्दै जान्छौँ
कुटिने छौ तिमीहरु लुटिने छौ
आज चुप छौ फेरी चुपै बस्ने छौ लाचार भै हेरिरहनेछौँ ।

My Blog List

Powered by Blogger.