Tuesday, August 26

निकम्मा जिन्दगी

हस्पिटलको आईसीयुमा
अश्वस्थ अनि अचेत देखिन्छ
बोलाउदा बोल्दैन
खोल्दैन आंखा पनि ।
आवाज निकाल्दै छ
बैज्ञानीक यन्त्रहरुले
सायद शास बाकी रहेको
झिनो आशमा भ्रम फैलाउदै छ
हो, ध्वनि प्रदुषण मात्र.. ।
टम्म मुख थुनिएको
अक्सिजन माक्स
खै शास खोस्दैछ
या त दिदै छ ।
एकापटि एउटा सीसी
रातो तरल पदार्थ
सल्लललल बगेर आउदैछ
टुलुटुलु हरे बस् हेरीरहे ।
सेतो पहिरनमा
एउटा अधबैसी पुरुष
धारिलो चिजको प्रहार
अंह दुखेन ।
जिउदो लाश,
न मुस्काउछ
न त झार्छ थोपा आशु
तिनै बैज्ञानीक यन्त्रहरुसंग
सम्बन्ध गांसेर
भर्पुर आन्नद लिदै छ
निकम्मा जिन्दगी ।

चाहना

छताछुल्ल पोखिएको
खुशीहरु संगालेर
अंजुलीभरी
थुनेर राखुला म ।
छ़्याल्ल ब्याल्ल छन्
मुस्कानहरु समेटेर
हरेक ओठहरुमा
सजाईदिउला म ।
आशु,रुवाई त संकुचित छ
बन्द कोठा भित्र
क्वा क्वा
त्यो बन्दन
खुलाईदिउला म ।
अँ स्वप्न हैन संसार
जिवनका दुई पाटो
सुख अनि दुख
के भो र मिलेर कटाउला
बनेर "हामी" तिमी र म ।

Sunday, August 24

सपना...

सेलायो, सुस्तायो
तर्कियो, टाढियो
झर्कियो, फन्कियो
रिसाएको रैछ
फुर्केन मेरो सपना ।

प्रेमले नियाले
बोलाएं, फकाएं
फुर्काएं, थर्काएं
छाडेर गयो,
फर्केन मेरो सपना ।।

आत्तिएं, रोएँ
कराएँ, चिच्चाएं,
आफैलाई पिटें
थाहा भयो,
उडेछ मेरो सपना ।।।

तर पनि,
बुनिरहे, सांचिरहे
देखिरहे, कल्पिरहे
मन्मनै हांसीरहे
कैले पराई भएन
सुन्दर मेरो सपना ।।।।


Monday, August 18

मनको जित

घुर् घुर् घुर्
एकतमासले टोलाईरहेकि म अकास्मात झस्किए छेऊको टेबलमा राखिएको मोबाईल भाईब्रेट गर्दा । जुरुक्क उठेर मोबाईल भए तिर गए कसको फोन थियो कुन्नी मिस्कल बनिसकेको रैछ मोबाईलको लक खोल्ने मन भएन । मेरो सुन्दर कल्पना भङ गर्ने प्रति एक किसिमको क्रोध थियो त्यो ।

आफ्नो खाटमा फर्किए । निलो रङले पोतिएको कोठाको भित्तालाई नियाले । सधै झै नै थियो त्यो भित्ता हेर्न लायए कुनै नौलो कुरा त थिएन तर पनि हेर्ने मन भयो, मन को अगाडि कसको के लाग्छ र? एकापट्टि भित्तामा सानो काठको घडि थियो । त्यसको एक छेउमा मेरो तस्विर अर्को छेउमा दाजुको तस्विर थियो । हिंजो यहि समयमा त्यही घडिले ५ बज्यो भन्थ्यो आज पनि त्यही भन्यो परीवर्तन केही थिएन । नजर घुम्दै थियो अलि पर मम्मी-बाबा को प्रेम झल्किनेे अङ्गोलो मारेको तस्विर थियो । म मुन्टो घुमाउदै थिए भित्ता हेर्ने मन मरेको थिएन । एक्कासी मेरो नजर झन्डै पाँच-छ बर्ष अगाडि मनकामना जांदाको आफ्नै तस्वीरमा गएर अड्डियो । देख्न त सधै देखेकै हो तर आज अजिब तरिकाले हेर्दै थिए आफैलाई खै किन हो । छोटो कपाल, निलो टिसर्ट, निलो जिन्स पाईन्ट अलि लुज थियो सायद, अनि बुडि औला घुसारेर लाउन पर्ने सेन्डल । बायाँ खुट्टा भित्तामा आड़ लाएर क्यामरा तिर फर्केर मुसुक्क हासेकी म । कैले नबोल्ने मेरो अमुर्त तस्विर म सँग बात मार्दै थियो आज ।

जुरुक्क उठे, उठेर भित्ताको त्यो तस्विर झिके बोकेर खाटमा ल्याए । "छि: कस्तो फोहोर भएछ" - मन बोल्यो । हुन पनि हो झुन्ड्याईएको दिन देखी त्यसलाई कसैले बास्ता गरेको थिएन । मैले पनि कैले गरिन । सोचे, मेरो अतित पनि अतितको यही तस्विर जसरी मैलियो होला त? धमिरा लाग्यो त मेरो अतितमा ? कतै माकुराले जालो पनि बुन्यो होला हगी? आफैसंग प्रश्न गरें । आ~~अतित न हो मैलिएको भएनि मैलोस् धमिलिएको भए नि धमिलियोस् फर्केर सफा गर्न मिल्दैन क्यारे । कसैले जानेरै नाम राखेको रैछ "भूत" । अनाबस्यक कुरा सोचेर आफैलाई तर्साउदै थियो आज मलाई त्यो भुतले ।

अलिअलि सफा गरे झै गरे पछि पुन: लगेर झुन्ड्याई दिए । सँगै "भुत" लाई पनि झुन्डाउने मन थियो । तर खै अतितको भुत निदाएर भविष्यको भुतले पो अड्डा जमाएछ मेरो मन मस्तिष्कमा । आत्तिन खोज्दै थिएं । भुतलाई आफुतिर हावी हुन नदिन आफैलाई सम्हाल्न खोजे । टेबलको मोबाईल ल्याए "क्यान्डि क्रस" खेल्न लागे । कैले खेल्दिन थिए भर्खर त लेबल ५ पुगेकी रैछु । लेबल नसकि पट्यार लाग्यो 3G अन गरे फेसबुक खोले केही देखिन बन्द गर्दिए । ट्वीटर खोलें खासै केही ट्ेन्ड देखिन त्यो पनि बन्द गर्दिए अन्त्यमा मनमा बास गरेको "भुत" लाई बेबास्था गरेझै गरेको नाटक प्रस्तुत गर्न म असफल भएँँ । पर्दा खोल्दै गर्दा बिचैमा अड्कियो ।

अँ के होला है भबिष्यमा ? सोचे सोचे अझै सोचे अंह केही कुरा निकालेन दिमागले । भबिष्यको भुतले त टम एन्ड जेरी जस्तरी झगड़ा गरा़यो मेरो मन र मस्तिष्कलाई ।
"किन पिर मान्छेस् जे हुन्छ राम्रो हुन्छ नि । " -मनले भन्यो ।
"होला खुब भाग्यमा के छ कसलाई के थाहा ।" - मस्तिष्क बोल्यो ।
" किन हुने नराम्रो चाही, नबिराउनु नडराउनु । " प्रतिउत्तरमा मन फेरी बोल्यो ।
आक्रोसित मस्तिस्क आफ्नै ज़िद्दी मा अडिग थियो, " भबिष्य कसले देखेको छ र भन्या यसरी ढुक्क भएर चाही दुख पाउछेस् ।"
"त के अहिले देखी आत्तेर रुदै हिड्नु त? यो त मुर्खता भएन र?" मन झन् गर्जेर प्रस्तुत भयो ।

द्वन्द चलि रहेकै थियो खै जित कसको हुने हो । म चाही मौन थिए । स्रोता थिए । सुने अझै सुनें निस्कर्ष निकाल्न सकिन । त्यसै बिच सुन्दर कल्पनामा हराउन पुगेछु । मानौ म एउटा सिनेमाहलमा छु । ठूलो स्क्रिनमा आफ्नो भबिष्य देख्दै छु । आफुलाई निक्कै खुशी देखें त्यहा । दुख त खुशीको अगाडि पर बसेर र्याल काट्दै गरेको रैछ । आँखाले भ्याउन सकिने जति हेरे कोसौ सम्म पनि पिडा र चोटलाई देखिन । आफैलाई लाग्यो नैराश्यतालाई म आफैले फोहोरको थुप्रोमा लगेर फालेको रैछु । दुखमा पनि हांसेर बाच्न सिके पो जिवनले सार्थकता पाउछ त । ठुलो पर्दामा हेरेको मेरो भबिस्यको सार त्यति नै थियो ।

फर्किए युद्द मैदानमा, त्यसलाई मैले फुटबलको मैदान बनाईदिए । कल्पना न हो । आफु रेफ़्री बने अनि पिर्रर्रर्रर्र सिठ्ठि फुकें मस्तिस्कलाई रेड कार्ड दिए र मनले जितेको घोषणा गरेर मुसुक्क हांसे । :)

शब्द भित्रको संसार

जब कुनै पुस्तक सँग मेरो प्रेम बस्छ, म भुल्छु आफ्नै दुनियाँलाई । लाग्न थाल्छ अँ म त छुट्टै संसार आईपुगेछु । हजुरआमाले सुनाउने दन्त्य कथा जस्तै म आफुले आफैलाई किताबी संसारको परी ठान्नथाल्छु । म पौडिने या तैरीने मात्र हैन त्यसै भित्र डुबिसक्छु । छ्याप्पै भिजिसक्दा पनि अंह मलाई कतै घुटन महसुस हुदैन । बरु अझै झन् झन् उत्साह थपिदै जान्छ, जति जति अघि बड्छु त्यति त्यति गहिराईमा पुग्ने मेरो चाहना बड्दै जान्छ ।

कुनै पुस्तक सुरु गरेपछि अन्त्य नहुन्जेल न भोकले अंगाल्छ न त तिर्खा नै लाग्छ, मानौ ति शब्दहरु मेरो भोक मेटाउने भोजन हो, प्यास मेटाउने पानी हो । पुस्तक पढिरहदा लाग्छ त्यो मेरो बाबु हो, मेरो आमा ,सँगै खेल्ने सखी पनि । म त्यसको अंगालोमा ममता भेट्छु, प्रेम भेट्छु, साथ भेट्छु, भावना पनि भेट्छु । कतै अन्अपेक्षित रुपमा रुवाउछ, कतै खित्का छोडेर हसाउछ, कतै भावुक बनाउछ अनि कतै उत्तेजक पनि ।


सुर्य पहाडको पछियौरीमा लुकेपछि आखांको नानी पनि परेलीको ढकन भित्र लुक्न चाहन्छ तर मन, मन अझै सामिप्यता खोज्छ तिनै शब्दहरुको । खैर शब्द शब्द जोडेर बनेको बाक्यरुपी माला संगाल्दै निदाउछु । अर्को बिहान फेरी तिनै शब्दलाई स्पर्श गर्न मन लाग्छ, त्यो भगवान् हो मेरो, अघिल्लो दिन उनेको माला भिराएर पुजा गरु लाग्छ । अनि फेरी तिनै शब्दलाई भजन बनाई गाउ जस्तो, अरे कति शान्त हुन्छ है मन?

सँगै हिड्दा हिड्दै बाटो समाप्त हुन्छ, छुट्टिने रहर हुन्न, कतै त फेरी फर्केर त्यो बाटो पुनः हिडु लाग्छ । अबिस्मरणिय नै हुन्छ सबै यात्रा । अनि अर्को दिन फेरी नयां यात्र सुरु हुन्छ उसै गरी नयां संसारमा पुग्छु, पौडिन्छु, तैरीन्छु, डुब्छु, अंगालो मा रमाउछु, संसार भुल्छु अनि अन्त्यमा रहर नहुदा नहुदै बाटो टुङ्गिन्छ । आखिर सबै बिछोड अप्रिय नै त हुन्छ नि । अपसोच ऊ सँग छुट्टिन मलाई करै लाग्छ । .......

Sunday, August 10

अस्तित्वको खोजी


छाम्छाम् छुम्छुम् गर्दै
अचेल म आफ्नैलाई खोजिरहेछु
अकाल्पनिक अस्तित्व
अनि अदृश्य मौजुतलाई खोजिरहेछु
सायद, आफै भाग्दै छु आफै बाट
त्यसैले, छाम्छाम् छुम्छुम् गर्दै
अचेल म आफैलाई खोजिरहेछु

खै शास मात्रै बाकि छ कि
हैन लास भैसके म,
मेरो अदृश्य उपस्थिति
मुस्काउदै होला या
कोलाहल बिच एक्लै रुदै छ
अत्तालिदै, छाम्छाम् छुम्छुम् गर्दै
अचेल म आफैलाई खोजिरहेछु

सपना बाट बिउझे झै
झल्यास्स बिउझिदा महसुस हुन्छ
उस्तै छ कम्पन मुटुको
उस्तै छ ताल परेलीको
अनि बल्ल थाहा हुन्छ
ए म त बाचिरहेछु
तर अझै, छाम्छाम् छुम्छुम् गर्दै
अचेल म आफैलाई खोजिरहेछु ।

गजल

हेर्नु जती हेरी हाल्यौ के को आशा राख्छौ अब
फेर्नु जती फेरी हाल्यौ के को आशा राख्छौ अब ।


अरु सामु इमान्दार र सोझो बन्दै तिमि
चोर्नु जती चोरी हाल्यौ के को आशा राख्छौ अब ।


लेखया थिए भाबीले त तिम्रो मेरो मिलन कथा
केर्नु जती केरी हाल्यौ के को आशा राख्छौ अब ।


छता छुल्ल पोखिए थ्यो खुसी, हासो मेरो
सोर्नु जती सोरी हाल्यौ के को आशा राख्छौ अब ।

गजल

हार्नेहरु हार्दै गरुन्, म जित्ने तयारीमा छु ।
शत्रुहरुले जहर छरुन्, म जित्ने तयारीमा छु ।।


चाकड़ी र चाप्लुसे छ, संस्कार अचेल भरी ।
निउँरिदै तलै परुन्, म जित्ने तयारीमा छु ।।


आफ्नै दुनो सोझ्याउन, लिप्त भए सबैजना ।
आफ्नै तुम्बो भरुन्, म जित्ने तयारीमा छु ।।


दुःख पिडा अनि आँशु, झेल्न यहाँ नसकेर ।
हुतिहारा सबै मरुन्, म जित्ने तयारीमा छु ।।


सफलताको उकालो त्यो, उक्लनलाई गाह्रो हुँदा ।
कमजोर जति तल झरुन्, म जित्ने तयारीमा छु ।।

मेरो कबिता निधाएछ

न्यानो घामको किरण मुहारमा नपर्दै
शब्दहरुको लाली ओठमा छर्दै
मेरो हरेक भावनालाई चिन्थ्यो
र बिहानै ऊ चिटिक्क पर्दै निस्किथ्यो

म मुस्काउदा मुस्काउने साथी
म रुदा सँगै रुने हो कति जाती
म केबल सम्झिन्थे ऊ बर्सिदिथ्यो
त्यस्मै रुझ्थे म, उसंग प्रेम बस्थ्यो

धेरै समय पछि अतित कोल्टाए
डायरिका पानाहरु पल्टाए
नबोल्ने कसम दिएर कतै रीसाएछ
अनि कतै तिनै कविता मस्त निदाएछ ।

हामी सहंदै जान्छौ

धित् मरुनजेल चलाऊदै जाउ, हामी चल्दै जान्छौँ
अङ अङ गलाउदै जाउ, हामी गल्दै जान्छौँ
आखिर के भो र हामी त एउटा खेलौना हौँ
तिमी खेलाउदै जाउ, हामी खेल्दै जान्छौँ ।

हामी सहदै जान्छौँ , तिमी लुट्दै जाउ
कहिले सम्म रहर मर्दैन, तिमी कुट्दै जाउ
तिमीहरु जुट्दै जाउ, अझै चुप लाग्छौँ
एक एक गर्दौ लुट्दै जाउ
आखिर के भो र हामी त एउटा खेलौना हौँ
तिमी खेलाउदै जाउ, हामी खेल्दै जान्छौँ ।

तिमी जलाउदै जाउ, हामी जल्दै जान्छौँ
हाम्रा हरेक सपनाहरु बाल्दै जाउ, हामी बल्दै जान्छौँ
सक्यौँ भने यदी हाम्ले छल्दै गरौँला
नत्र के तिमी ढाल्दै गर, हामी ढल्दै गरौँला
आखिर के भो र हामी त एउटा खेलौना हौँ
तिमी खेलाउदै जाउ, हामी खेल्दै जान्छौँ ।

अनी फेरी
तिमी अधिकारका कुराहरु सुनाउदै जाउ
चेतनाका एक एक गीत गुन गुनाउदै जाउ
अनी माथि माथि धेरै माथि पुग तिमी
हामी अझै तल पर्छौ तिम्रै कुराहरु सुन्दै जान्छौँ
आखिर के भो र हामी त एउटा खेलौना हौँ
तिमी खेलाउदै जाउ हामी खेल्दै जान्छौँ ।

त्येतिले कहाँ तिम्रो प्यास मेटिएला र
साना साना कोपिलालाई फुल्नै नदेउ
एक एक मुना हरु चुडदै जाउ
अझै चुप लाग्छौँ लाचार भई सहीरन्छौँ
आखिर के भो र हामी त एउटा खेलौना हौँ
तिमी खेलाउदै जाउ हामी खेल्दै जान्छौँ ।

तर जब धैर्यको बाध टुट्छ
आधी सरि उर्लिन्छ अनी ज्वालमुखी झै पड्किन्छ
तब तिमीहरु छुट्टीदै जाने छौ, हामी जुट्दै जान्छौँ
कुटिने छौ तिमीहरु लुटिने छौ
आज चुप छौ फेरी चुपै बस्ने छौ लाचार भै हेरिरहनेछौँ ।

My Blog List

Powered by Blogger.