जब कुनै पुस्तक सँग मेरो प्रेम बस्छ, म भुल्छु आफ्नै दुनियाँलाई । लाग्न थाल्छ अँ म त छुट्टै संसार आईपुगेछु । हजुरआमाले सुनाउने दन्त्य कथा जस्तै म आफुले आफैलाई किताबी संसारको परी ठान्नथाल्छु । म पौडिने या तैरीने मात्र हैन त्यसै भित्र डुबिसक्छु । छ्याप्पै भिजिसक्दा पनि अंह मलाई कतै घुटन महसुस हुदैन । बरु अझै झन् झन् उत्साह थपिदै जान्छ, जति जति अघि बड्छु त्यति त्यति गहिराईमा पुग्ने मेरो चाहना बड्दै जान्छ ।
कुनै पुस्तक सुरु गरेपछि अन्त्य नहुन्जेल न भोकले अंगाल्छ न त तिर्खा नै लाग्छ, मानौ ति शब्दहरु मेरो भोक मेटाउने भोजन हो, प्यास मेटाउने पानी हो । पुस्तक पढिरहदा लाग्छ त्यो मेरो बाबु हो, मेरो आमा ,सँगै खेल्ने सखी पनि । म त्यसको अंगालोमा ममता भेट्छु, प्रेम भेट्छु, साथ भेट्छु, भावना पनि भेट्छु । कतै अन्अपेक्षित रुपमा रुवाउछ, कतै खित्का छोडेर हसाउछ, कतै भावुक बनाउछ अनि कतै उत्तेजक पनि ।
सुर्य पहाडको पछियौरीमा लुकेपछि आखांको नानी पनि परेलीको ढकन भित्र लुक्न चाहन्छ तर मन, मन अझै सामिप्यता खोज्छ तिनै शब्दहरुको । खैर शब्द शब्द जोडेर बनेको बाक्यरुपी माला संगाल्दै निदाउछु । अर्को बिहान फेरी तिनै शब्दलाई स्पर्श गर्न मन लाग्छ, त्यो भगवान् हो मेरो, अघिल्लो दिन उनेको माला भिराएर पुजा गरु लाग्छ । अनि फेरी तिनै शब्दलाई भजन बनाई गाउ जस्तो, अरे कति शान्त हुन्छ है मन?
सँगै हिड्दा हिड्दै बाटो समाप्त हुन्छ, छुट्टिने रहर हुन्न, कतै त फेरी फर्केर त्यो बाटो पुनः हिडु लाग्छ । अबिस्मरणिय नै हुन्छ सबै यात्रा । अनि अर्को दिन फेरी नयां यात्र सुरु हुन्छ उसै गरी नयां संसारमा पुग्छु, पौडिन्छु, तैरीन्छु, डुब्छु, अंगालो मा रमाउछु, संसार भुल्छु अनि अन्त्यमा रहर नहुदा नहुदै बाटो टुङ्गिन्छ । आखिर सबै बिछोड अप्रिय नै त हुन्छ नि । अपसोच ऊ सँग छुट्टिन मलाई करै लाग्छ । .......
1 comments:
धेरै राम्रो
Post a Comment