Monday, September 21

‘खुसी’ले नदिएको खुसी

(मदन पुरस्कारको घोषणापछि मेरो मनको प्रतिक्रिया)


आजभोलि बजारमा साहित्यको जगेर्ना गर्ने कम, व्यापार गर्ने ज्यादा भएका छन् । भावनाहरू शब्दमा पोखिन भन्दा पनि धेरै बजारमा खोक्रो चर्चा बटुल्नमा व्यस्त हुन थालेको देखिँदैछ । अचेल साहित्य कतै मिडियाको पुच्छर बन्दै छ त कतै पैसावालाहरूको रखवाला ।

केही समयअघि मात्रै एकजना प्रतिष्ठित लेखकको उपन्यास सार्वजनिक भएको थियो । किताबको आवरण देख्नु पूर्व म निक्कै नै लालायित अझ भनौं प्रतिक्षारत थिएँ त्यो पुस्तकको लागि तर जब त्यो पुस्तक हातमा पर्यो नढाँटी भन्दा पुस्तक पल्टाइरहने झन्झटसम्म पनि गर्न मन लागेन । पुस्तकको आवरणले पुस्तकलाई भन्दा धेरै त लेखकको नामलाई बिकाइरहेको थियो । कसो झुक्किएन लेखकको नाम चाहि पुस्तकको अनि पुस्तकको नाम चाहिँ लेखकको हो भनेर ।

कहिलेकाहीँ मेरो मस्तिस्कले ढुङ्ग्रो फुक्ने गर्छ के होला यदि कसैले पनि आफ्नो पुस्तकको अगाडि नाम नझुन्ड्याउँदो हो त ? सायद साहित्यले सही ढङ्गले न्याय तब पाउने थियो जब कुनै किताबको अघि चर्चित पब्लीकेसन र प्रतिष्ठित लेखकको नाम उल्लेख नगरिँदो हो त । सफा, सरल अनि योग्य लेखनको पिछा गरेर लेखकसम्म पुग्न पाए पाठकको मनले पनि न्याय पाउँथ्यो होला बरु । खैर, यो त मेरो कल्पनाको कुरा मात्रै भयो ।

मलाई अचकाली रीस त त्यस्ता पुस्तकहरूसँग उठ्छ जसले त्यहि चर्चित नामको आडमा पढ्न रुचाउनेहरूले उठाउन नसक्ने मूल्य तोकेर साहित्यलाई लिलामीमै राखिरहेका हुन्छन् । मूल्यकै आडमा पुस्तक भित्रको सामग्रीलाई मूल्याङ्कन गर्ने हो भने मुनामदन जस्ता पुस्तकहरूको अस्तित्व धेरै अघि नै बिलाउने थियो साहित्य जगत्बाट ।

‘शिरिषको फूल’ जस्ता अमर कृतिले स्थान पाउने मदन पुरस्कारको गरिमा माथि नै आँच आउने गरी बिग्रँदै छ साहित्यको बाटो । ‘खुसी’ आफैमा नराम्रो कृति पक्कै हैन तर मदन पुरस्कार जस्तो गरिमामय सम्मान आत्मप्रशंसा मात्र समेटिएको व्यक्तिविशेषको आत्मवृतान्तलाई सुम्पनु त अन्य सुन्दर र योग्य पुस्तक माथिको अन्याय मान्छु म त ।

पढ्दै आएको दर्शनलाई आफ्नो व्यक्तिगत जीवनमा ढालेर पुस्तक लेख्नु आफैमा गाह्रो काम हुँदै हो त्यसका लागि लेखकको लेखनी प्रशंसनीय नै छ तर यति बेला हजारौं पाठकहरूको मनमा खेलेको कुरा यति हो, ‘सायद मदन पुरस्कारलाई मिडियाको तागतका अघि जोखिम मोल्ने रहर नभएको हो कि ।’ या मदन पुरस्कार नेपालको ठूलो साहित्यिक पुरस्कार नभएर गोजी पुरस्कार बन्ने बाटोतिर लम्किदै हो कि । छोटोमा भन्दा खुसीले अहिले आएर म मात्र हैन म जस्ता हजारौँ पाठकहरूलाई खुसी बनाउन सकिरहेको छैन ।

‘कर्णाली ब्लुज’ को सफलता लगत्तै लेखकलाई अर्को पुस्तक निकाल्न चुनौती बनेको छ । तर यो कुरामा लेखक ढुक्क बन्दा हुन्छ, ‘कर्णाली ब्लुज’ नामकै आधारमा उहाँको आगामी पुस्तकले बजारमा राम्रै हल्ला फैलाउने कुरामा कुनै दुई मत नै छैन ।

अहिलेको साहित्यिक बजारमा अनावश्यक चर्चा बटुलेर पुस्तक बिकाउने प्रवृति मौलाउदै गएको छ । यो आफैमा लजास्पद कुरा हो । किताबको बाहिरी आवरण, लेखकको नाम अनि अनावश्यक फैलिएको चर्चाकै आधारमा किताबको मूल्याङ्कन गर्दै जाने हो भने साहित्य जगत अन्धकारतिर धकेलिने निश्चित छ ।

1 comments:

Rishi Adhikari said...

विजय कुमारको खुसी पढ्दैछु । पेज 143 मा आफ्नो विवाह पछि लगत्तैको पार्टीमा ठूल्ठूला मान्छेको साथमा नारान गोपाल दाइ र पेमला भाउजू पनि आएको कुरा उल्लेख गरेका छन् । 2048 मङ्सिर 12 गते सुषमासॅग उनको बिहे भएको रहेछ । तर 2047 मङ्सिर 19 गते नारायण गोपालको निधन भएको थियो । नारायण गोपाल कसरी विजय कुमारको बिहे पार्टी खान आए ?
सुन्छु, भर्खरै उनको यो पुस्तकले ठूलो पुरस्कार पाएको छ रे । धन्य छ ।
मेरो फेसबुक स्टाटसबाट

Post a Comment

My Blog List

Powered by Blogger.