भनिन्छ “हिजो जो गैसक्यो त्यसलाई सम्झेर निराश नहुनु अनि भोलि जो आउनै बाँकी छ, त्यसलाई सम्झेर नआत्तिनू। भूतलाई र भविष्यलाई सम्झनु केवल समयको बर्बादी मात्र हो।” तर वर्तमानलाई भूतले डोर्याइरहेको हुन्छ अनि भविष्यलाई वर्तमानले। कालहरू एक अर्कासँग यसरी जोडिन्छन् अनि म कसरी भुलौँ त्यो अतितलाई जसले मेरो आजलाई मसँग ठोक्काएको छ? म त भन्छु ‘भोलि’ जिउन ‘हिजो’लाई कहिल्यै बिर्सनु हुँदैन।
लाग्छ भूत साँच्चिकै भूत जस्तै हुन्छ, तर्साउँछ, सताउँछ, दुखाउँछ अनि रुवाउँछ पनि। तर यति याद राख्नु पर्छ त्यही भूतको डरले नै पीडा भुलाएर आजसँग हाँस्न सिकाउँछ भोलि सम्झी जिउन सिकाउँछ। यसरी बुझ्दा त एउटा जिन्दगी यिनै कालहरूसँग जोडिएर बनेको हुने रहेछ।
जीवन सरल छ उच्चारण गर्दा, त्यति नै सरल लाग्छ, सरल तरिकाले बुझ्न खोज्दा। तर जति जति गहिराई खोतल्दै गयो त्यति त्यति जटिल जटिल बनिदिन्छ जिन्दगी। जीवनका परिभाषाहरू अलग अलग छन् त्यस्तै अलग अलग हुन्छन् जीउने बहाना र तरिकाहरू पनि। कहिलेकाहिँ फूलहरू, ताराहरू, पवन, आकास, जून, झरी यस्तै प्रकृतिका सुन्दर नमूनाहरूसँग बात मार्दा म खोतल्ने गर्छु जीवन जिउनै पर्ने कारणहरू र त्यही कारणको खोजी गर्नु नै जीवन जिउने मिठो बहाना बनेर आइदिन्छ निष्कर्षमा।
मानिसहरू झुकिन्छन् एउटा प्रश्नमा आएर, हामी आखिर बाँच्नको लागि जिउँदै छौँ या मर्नको लागि? अन्तिम विन्दु नियाल्ने हो भने त हामी मृत्युकै लागि संर्घष गर्दैछौँ न कि जिउनका लागि। जीवन भ्रमहरूकै आँखीझ्याल हो। हामी रुन पर्ने कुरामा हाँस्छौँ अनि हाँस्न पर्ने कुरामा रुन्छौँ। हामी आजीवन संघर्ष गर्छौँ सन्तुष्टीका लागि। के मृत्युले कहिले सन्तुष्टिको मापन गर्न सक्ला र? खै मलाई लाग्दैन मृत्युसँग कोही सन्तुष्ट हुन्छ। तर आखिर सत्य त त्यही मृत्यु मात्र हो जीवन त दलदल हो भ्रमहरूको सञ्जाल हो।
नियति छ जीवन बनाउने। कुनै जीवनलाई रङ्गीन क्यानभाषमा बनाउँछ कुनैलाई श्यामश्वेत पाटीमा, त्यसैले त होला नि आफ्नो जीवनलाई नजिकबाट नियाल्दा कसैले रङ्गीन भेट्टाउँछन् कसैले ब्लाक एन्ड ह्वाइट। यही कारणले होला जीवनको परिभाषा भोगाइ पिच्छे नै भिन्न भिन्न बनेको।
मानिसहरू जीवनलाई सुन्दर फूलहरूसँग तुलना गर्छन। कोही काँडाबीच फुल्ने गुलाब भन्छन् जीवनलाई, अनि कोही हिलोबीच फुल्ने कमल मान्छन्, बुझाई आ–आफ्नै हो।
मानिस स्वभावैले स्वार्थी हुन्छ। आकाङ्क्षासँगै बढ्छ मान्छेको स्वार्थपन पनि। ऊ आफ्नो जस्तै दुख अरुको देख्दा रमाउँछ। आफ्नो जस्तै पीडा अरुको देख्दा उसको दुख कम हुन्छ अनि त्यही दुख, चोट, पीडा, वेदना, आँसु जस्ता काँडाहरूलाई आफूभित्रै जोडेर पनि मुस्काउन सिक्दछ। त्यसैले मलाई लाग्छ मानिसको जीवन मरुभूमिमा पानी बिनै पनि फुल्न सक्ने हरियो काँडे क्याक्टस जस्तै हो जो अरुलाई दुखाउँदा पनि फुलिरहन्छ अनि हाँसिरहन्छ।
पहिलो पोस्टमा प्रकाशित मिती २३ जेठ २०७२
0 comments:
Post a Comment