Thursday, September 10

भो, मलाई चाहिँदैन आरक्षण

साँझ फेसबुक खोल्ने बित्तिकै महिला मित्रको स्ट्याटसमा आँखा ठोक्कियो। लेखिएको थियो– म पुरुष समान भएकाले महिला भएकै कारण कोटा चाहिँदैन। भनाइ घत पर्योट अनि फर्काएँ- म समानता खोज्छु भने म पनि पुरुष समान सार्वजनिक यातायातका साधनमा उभिएरै यात्रा गर्न सक्छु, म महिला हुँ, मलाई पनि आरक्षण चाहिँदैन।
वास्तवमा भन्ने हो भने आरक्षणले मानिसलाई कमजोर बनाउँछ। हामी एकातिर समान हक र अधिकारका कुरा गर्दै हिँड्छौँ अनि अर्कोतिर आरक्षणको भिख पनि माग्दै हिँड्छौँ। यो लज्जास्पद होइन र? हो, प्रकृतिले शारीरिकरूपमा महिलालाई भन्दा पुरुषलाई सवल बनाएको छ। यसको अर्थ यो हुँदै होइन कि हामी केही समयको यात्रामा उभिने सामर्थ्य नै राख्दैनौँ। महिलामा आइपर्ने कतिपय शारीरिक समस्याको ज्ञात जो कोहीलाई पनि छ। आफूलाई समस्या परेको बखत कसैसँग सहयोग माग्दा जो कोही पनि सहयोग गर्न अघि बढ्छन्। यो सँगै जोडौँ सार्वजनिक यातायातमा सल्बलाउने गिद्धे नजर र हातहरू पनि। महिलामाथि हुने यस्ता दुर्व्यवहारहरूको समाधान पनि आरक्षण पक्कै होइन। नेपालको फितलो कानुन त्यसको मुख्य कारण हुन सक्छ। आरक्षणले हामीलाई भाग्न त सिकायोे सँगै त्यस्ता राक्षसी प्रवृत्तिको सामना गर्ने हिम्मतलाई पनि त्यही सिटमुनि बाँधिदियो।

समानताको वकालत गर्दै हिँड्ने कति महिला अधिकारकर्मीले त डलरकै खेती गर्ने व्यवसाय बनाएका छन् आरक्षणलाई जो स्वयम् पुरूषबाटै सञ्चालित रोबोट बनेका छन्। सुन्दै हास्यास्पद लाग्छ, सहरमा गुड्ने बसमा आरक्षणको निहुँमा किचकिच गर्दै हिँड्नेहरूले कहिल्यै गाउँका कच्ची बाटोमा घण्टौँ यात्रा गर्ने महिलाको मर्म बुझेका छन्? खै त यो हक र आरक्षण अनि समानता चाहिँ गाउँका महिलालाई? आरक्षणको आवश्यकता त्यहाँ छैन? यहाँ महिला भएकै कारण अन्य कुरामा पुरुष समान बनाइनुपर्ने भाषण दिइन्छ, अनि तिनै किन सरकारी निकायमा लाजै नमानी महिला कोटाबाट सरासर नाउँ निकाल्ने अड्डी कस्छन्? दमाइँलाई दमाइँ भन्दा लाज लाग्छ तर त्यही थर बिकाएर ऊ कोटामा जागिर खान्छ। किन भन्न सक्दैनन् हामी समानता चाहन्छौँ भने हामीलाई कोटा चाहिँदैन, खुलाबाटै लडेर पनि अघि आउन सक्छौँ भनेर?

हामीलाई महिला भएकै कारण आरक्षण आवश्यक छैन। पक्कै पनि कहिलेकाहीँ महिलामाथि आइपर्ने विकराल परिस्थितिलाई आरक्षणले राम्रै सुविधा दिएको छ तर त्यस्तो विशेष परिस्थिति पुरुष साथीहरूलाई कहिल्यै आइपर्दैन होला र? के हामीमध्ये कसैले यी कुरामा कहिल्यै ध्यान दिएका छौँ? मैले धेरै पटक सार्वजानिक यातायातमा चढेर यात्रा गर्दा देख्ने गरेकी छु दयनीय दृश्य जहाँ महिला आरक्षण सिटमा बसिरहेका राम्ररी उभिनसम्म गाह्रो पर्ने वृद्ध पुरूषलाई उभ्याएर कलेज पढ्ने उमेरका दिदीबहिनीलाई बसाइन्छ। के कहिल्यै हामीले पाएको सुविधाको सही ढङ्गले उपयोग गरेका छौँ? ती वृद्धलाई उभ्याएर सवल हामीले सजिलो गरी यात्रा गर्नु जायज हुन सक्छ?

सबैभन्दा पहिले हामीले यो बुझ्न जरुरी छ– समस्याले कहिल्यै आरक्षण छुट्टाउँदैन। महिला, पुरुष, दलित, जनजाति जो कोहीलाई पनि समस्या आइपर्न सक्छ। महिलालाई महिला भएकै कारण समस्या पर्ने त्यसैले आरक्षण चाहिने अनि पुरुषलाई पुरुष भएकै कारण समस्या नपर्ने सोच नै गलत छ। भलै समस्याका प्रकार अलग होलान्। यति बुझेर हेर्ने हो भने हामीमध्ये कसैलाई पनि आरक्षण आवश्यक पर्दैन, यदि अप्ठेरो परिस्थितिमा महिलाले पुरुषलाई अनि पुरुषले महिलालाई सहयोग गर्न अघि सर्ने हो भने। साथै सामाजिक र नैतिक शिक्षाको पनि त्यति नै आवश्यकता छ। आरक्षणका नाममा हाम्रो देशका एनजिओकर्मी दिदीबहिनी जति सक्रिय हुनुहुन्छ र आरक्षणका निम्ति डलरमार्फत जुन 'चेतना' निर्माण गरिरहनुभएको छ, त्यस्तो 'उन्नत' चेतनाले कमसेकम मलाई भने फिटिक्कै छुन सकेको छैन। त्यसैले हो, म महिला हुँ तर म
पुरुष समान जिउन चाहन्छु भने पुरुषले झैं झुन्डिएरै यात्रा गर्न सक्छु। मलाई केवल महिला भएकै कारणले आरक्षण चाहिँदैन।

नागरिक दैनिकमा प्रकाशित मिती २२ भाद्र, २०७२

0 comments:

Post a Comment

My Blog List

Powered by Blogger.