“ओहो ! यिनले त भल्गर कविता लेखेर चर्चा बटुलीछिन्।” सेतोपाटीमा छापिएको ‘निर्दोष भ्रुण’ पढिसकेपछि मेरा नजिकका मानिने साथीहरूबाटै पनि यस्तो प्रतिकृया पाएँ। म अलमल्ल परेँ यसलाई म आरोप मानौ कि कम्प्लिमेन्ट?
एक हप्ता अगाडि छिमेकी दिदीको बारेमा एउटा घटनाको विषयलाई लिएर जोडतोडले हल्ला मच्चियो। “थाहा छ, फलानीको छोरीले त पाप बोकेर आइछे, बिहे नगरी पेट बोकिछे।” यिनै शब्दहरूले मेरो मनस्थितिलाई यसरी जकड्यो कि मैले कविताका रूपमा ‘निर्दोष भ्रुण’ लिपिबद्ध गर्ने निर्णय लिएँ। मैले आफ्नो मनमा उब्जेका कुरालाई बिना हिचकिचाहट उतार्न चाहेँ, आफ्नो मानस्पटलमा मच्चिएको हलचललाई शब्दमा पोखेँ। उनको (घटनाकी पात्र) आक्रोशित मन अनि समाजको आँखामा आफूले आफैंलाई जर्बजस्ती दोषी मान्न निम्ताएको परिस्थितिलाई केहि हदसम्म प्रकट गर्न खोजें। सायद त्यसैले म मेरा साथीहरूको नजरमा असामाजिक भएँ। पक्कै त्यसैले मलाई भल्गर कविता लेखेर चर्चा बटुलेको आरोप लगाए।
आज ती दिदी र म एकै ठाउँमा उभिएको महसुुुस गर्दै छु। आफूले गरेको कामलाई जवर्जस्ती गल्ती मानेर उनले आत्महत्या गरिन् भने म त्यसलाई आत्महत्या हैन हत्या मान्छु। अनि मैले लेखेको कविताको आधारमा मेरो चरित्रको मूल्याङ्कन गरिन्छ भने त्यो मेरो चरित्रहत्या हो भन्ने ठान्छु।
कविताको प्रतिकृया स्वरुप धेरैले मलाई मनैदेखि प्रेरणाको शब्दमाला पहिराइदिनु भयो। धेरैले समाजिक बिषयबस्तुलाई उठाएर समाजको अगाडि प्रश्नचिन्ह खडा गर्दिएकोमा धन्यवाद पनि दिनुभयो। तर, कति त्यस्ता मुहारहरू पनि भेटिए जसले अगाडि वा वाइ पिटेर पछाडि मेरो लेखनमा धावा बोल्नु भयो। कतिले ममाथि मजाकमै शंकालु प्रश्न थमाए– “कथा तेरै होे कि अरु कसैको?” मुस्काउँदै मैले उत्तर दिएँ “किन यो घटना पहिलोपटक मेरो कविता मार्फत थाहा पायौ र? किन समाजमा त यस्ता घटना छरपस्ट देखिएका/सुनिएका छैनन् र?” हामी आफूले आफैलाई कति सजिलै विकसित समाजका आधुनिक पात्र भन्न तम्सिन्छौँ। तर, हामीलाई समाजमा घटेका असमाजिक र अमानवीय विषयहरू उठाउँदा अझै अपाच्य हुन्छ। आखिर किन हामी एकाइसौँ सताब्दीसम्म आइपुग्दा पनि हाम्रो सोच र मनस्थिती त्यही ढुङ्गेयुगबाट माथि उठ्न सकेन? कथा मेरो पक्कै होइन तर समाजले सोच्नै पर्ने हामीले देख्दै आएको सामाजिक यथार्थ घटना होइन र त्यो?
मैले लेखेको ‘निर्दोष भ्रुण’ कविता सेतोपाटीमा प्रकाशित भएपछि मेरो बाबाले पढ्नु भयो, आमालाई आफैले वाचन गरेर सुनाएँ। मेरो दादा आफैले शेयर गर्नु भयो। पक्कै म गलत थिएँ भने बाबाले अझै राम्रो लेख्न हौसला दिनुहुन्थेन। आमाले खुसी हुँदै काँध थप्थपाउनु हुन्थेन। दादाले दुई थप्पड हानेर आपत्ती जनाउनु हुन्थ्यो होला। तर आफ्नै परिवारको त्यो साथले म गलत नभएको पुष्टी गरिरहेको छ। अनि आफू सही छु भनेर कसैलाई प्रस्ट पारिरहन वा स्पष्टीकरण दिइरहन जरुरी ठानिन मैले।
कुनै कुरा पढ्नु अघि यो बुझ्न जरुरी छ, भावनाहरू मनबाट निसृत भएपछि शब्दका रूपमा उतार्न सकिन्छ। तर यो आवश्यक छैन कि आफैले भोगेको कुरा मात्र भावना बनेर आउँछ। अरुको भोगाईलाई उजागर गर्ने कोशिस मैले पनि गरेँ अनि भल्गरको उपनाम पाएँ। समाजमा कुरीति फैलिने अपाच्य उच्छ्रृङ्खल अनि अश्लील कृयाकलापलाई मुस्काउँदै स्वीकार गर्छौ, अनि त्यसको विरोधमा आवाज उठाउँदा चाहिँ अपाच्य हुन्छ हामीलाई। आखिर भल्गर केलाई भन्ने त?
कुनै सकारात्मक कुरालाई पनि नकारात्मक ढङ्गले बुझ्ने र सोच्ने मानिसको मानसिकता चाहिँ रोगी र भल्गर लाग्छ मलाई। अनि समाज वा देश बदलिनु पर्छ भन्नेहरूले पहिले आफ्नो सोच बदल्न सक्नु पर्छ। त्यसो भयो भने पक्कै सुन्दर समाजको कल्पना गर्न सक्ने थियौँ हामीले।
सेतोपाटीमा प्रकाशित मिति: शुक्रबार, पौष २५, २०७१
http://setopati.com/blog/22553/
1 comments:
I didn't see any vulgarity in your निर्दोष भ्रुण’? What is vulgarity mean for you or your reader who had comment or comliment you? Or the meaning of vulgarity got changed?
Post a Comment