Saturday, May 23

आँशुमा अनुदित सहिद

उखुम भीड चिच्याहटले
अचेल ओझेलमा पार्दैछ
नेपथ्यमा बज्दै गरेको
घण्टाघरको
टिङ् टिङ्लाई ।
हजारौ षड्यन्त्र लुकेको
त्यो गोप्य महल
नारायणहिटीले
गिज्याउँदै छ
हाम्रो इतिहासलाई ।
पृथ्वीको शालिक खडा छ
चेतावनी दिँदै
मूकदर्शक छौँ हामी
भुलेर उनको
उपदेशलाई ।
अग्ला महलहरू बिच
छोपिँदै गरेको धरहरा
लुकेर हेर्दैछ
झुक्दै गरेको
हाम्रो स्वाभिमानलाई ।
सहिदगेटका नाङ्गा सहिदहरू
घाँटीमा माला भिरेर
आँखामा आँशु लिई
सम्झदै होलान्
भूपीलाई-
'बनेन मुलुक दुई चार सपुत
मरेर जाँदा नि ।'
नेपालीपत्रमा प्रकाशित मिती : शुक्रबार, 16 माघ, 2071
http://www.nepalipatra.com/news/detail/12551/22

Saturday, May 9

भ्रमरहित वर्तमान

सपनै सपनाहरूको चुलीबाट एउटा सपना टपक्क टिपेर कुनै दिन मेरो अँगालो भरी सजिएर उसले भनेकी थिई– ‘कान्छु, हाम्रो छोरीको नाउँ दिलाशा राख्ने है ।’
एकाबिहानै कसैले मेरो हातमा रातो रङ्गीन कागज थमाएर गयो । विवाहको कार्ड भित्र दिलाशा नाउँ देखेपछि म झस्किएँ एकपल अनि मेरो मस्तिष्कमा विगतको हरेक क्षण मडारिन थाल्यो ।
***
सिनेमा हेर्न बसे झैं एकाएक मेरो मानसपटलमा अतितका प्रत्येक दृश्यहरू घुम्न थाले। खुसी के हो? के होला सुख? कत्रो होला आकाङ्क्षाको सगरमाथा? कहाँ होला चाहनाको अन्तिम बिन्दु? के हो प्रेम? अनि सर्मपण? केलाई भनिन्छ त्यो ? धेरै पटक आफ्नै दाँतले आफ्नो जिब्रो टोकेको याद छ मलाई– अरे यार अनि कसरी गर्न सकिन्छ कसैलाई आफूलाई भन्दा धेरै बिश्वास ? कहाँबाट जन्म हुन्छ धोका र विश्वासघातको ? त्याग ? कसका लागि गरिन्छ त्यो ? सही र गलतको मापन कसरी गरिन्छ ? थाहा छ पीडाले सबैलाई सताउँछ अनि दुखाउँछ ।
यति बुझ्दा बुझ्दै पनि मान्छे कसरी अरूलाई पीडाको समुन्द्रमा धकेलेर आफू खुसीको सागरमा तैरिन सक्छन् होला! चोटको साथमा किन सधै आँसु मात्र आउँछ? के सधैं एकै खाले पीडाले उत्तिकै  आँसुको आहाल जमाउँछ होला र ? उसो त म बेतुकका कुराहरू सम्झेर मनमा खेलाएर बस्ने मान्छे त हैन, तर आज अनायासै यी प्रश्नहरू कुन्नि किन हो गुडुल्किँदै छन् भित्र भित्रै । मैले आफ्नै जीवनसँग यो प्रश्न सोध्न पर्ने थियो । वर्षौ पहिले तर त्यो पल मेरो जीवन केवल मुकदर्शक बनिदियो, न बोल्यो न केही बुझायो । बन्यो त केवल जिउँदो लाश।
मैले जीवनमा जे जे पाएँ त्यो चाहना थियो या भनौं मेरो चाहना सबै प्राप्त भयो । मलाई आफ्नो जीवनसँग गुनासो छैन, न त कहिले थियो नै । म कहिले केही कुरा सोचेर गर्दिनँ, बरु गरेपछि सोच्छु । जीवन एउटा नाटक हो, मेरो जीवन पनि त्यस्तै नाटक लाग्छ मलाई। आफ्नो भूतलाई नजिकबाट नियाल्ने हो भने मलाई कुनै नाटकघरमा अद्भूत अनौठो किसिमको नाटक मञ्चन हुँदै गरेको महसुस हुन्छ । जीवनले दियो मलाई मैले चाहेको हरेक खुसीका धर्साहरू । कहिले केही नपाउँदा पनि रोइन म, कहिले सबै पाउँदा पनि हाँस्न सकिन म ।
कहिले अपूर्ण हुँदा पनि हाँसेको थिएँ म, कहिले पूर्ण हुँदा पनि रुँदै थिएँ । त्यसैले सायद जीवनलाई जीवन भनिएको रैछ, कहिले सरल भएन त्यो । त्यो त स्वचालित थियो । म त जीवनरुपी नाटकको एक पात्र, डाइरेक्टर अरु नै कोही थियो । म डाइरेक्टरको निर्देशन बमोजिम आफ्नो भूमिका निभाउँदै थिएँ । जीवन अँजुली भरीको पानी रैछ जसको भाग्य बलियो छ उसले धेरै पाउँछ नत्र थोरै । मैले कहिले हद पार गरेर रोज्दा नपाएको कुरा मोह हराएसी पाएँ । माया मारिसकेसी देखायो जीवनले सपना पूरा हुने आशाका स–साना किरणहरू।
मलाई कहिले रिस उठेन, कहिले दया जागेन, न त कहिले गुनासो रह्यो आफ्नो जीवनसँग । मलाई गुनासो थियो बरु अरु कसैको जीवनसँग, जसको जीवनमा मेरो अस्तित्व अमूर्त बनेर बसेको थियो । म त्यो सम्मान या त्यो स्थानको लायक नै थिइन कहिल्यै । हरसम्भव प्रयास गरेँ उसको जीवनबाट आफ्नो अस्तित्वको सर्वनाश गर्न मलाई के थाहा थियो र त्यो गर्न खोज्दा म उसको अस्तित्वको हत्या गर्दै थिएँ भनेर ! अरे कोही कसैलाई कसैको यति धेरै चाहना यति धेरै प्रेम पनि हुन्छ र ! कति पटक ऊ तयार थिई मेरो उपस्थितिलाई आफ्नो जीवनबाट पर धकल्न, म कसरी खुसी हुन सक्थेँ र कोही मेरो खुसीको लागि आफ्नो खुसीको मलामी जाँदै गरेको देख्दा । अँ कतै कतै यी र यस्तै कुराले घचघचाउँछ जीवनलाई ।
एकान्तमा आफैंलाई खोजी गर्ने क्रममा म आफ्नो मनको फ्ल्यासब्याक बटनलाई थिच्छु । हेर्दै जाँदा जीवन एक ठाउँमा गएर टक्क अडिन्छ । ती सम्झनु पर्ने कुराहरू त होइनन् तर पनि आइदिन्छ अवचेतन मनमा नचाहँदा नचाहँदै । नियतिले कस्तो मिठो मजाक ग¥यो मसँग त्यतिबेला । मेरो लागि त मिठै थियो बनिदियो नमिठो तितो र टर्रो अरु कसैको लागि । त्यसले सधै अन्तरकुन्तर केलायो, निफन्यो । कहिले मेरो चाहना पन्छायो कहिले अरु कसैको चाहना पन्छायो । फेरि निफन्यो । अन्तिममा पन्छिने क्रममा अरुकै चाहना पन्छियो सँगालिने भागमा मेरै चाहनाहरू मात्रै सँगालिए ।
यसो सोच्दै गर्दा एकाएक स्पर्श गर्छ उसको सम्झनाले । को भनेर सम्बोधन गरौँ म उसलाई, प्रेमी भनौँ सायद कहिले त्यो किसिमको प्रेम पलाएन मेरो मनमा उसका लागि । साथी भनौँ ऊ मलाई आफू रित्तिएर प्रेम गर्थी । अनौठो सम्बन्ध थियो हाम्रो, मैले नमागेरै सबै थोक पाउँथे ऊ बाट । उसले चाहेर पनि केही मागिन मसँग। म बुझ्थेँ उसको मप्रतिको प्रेम, न त उसलाई आफूलाई प्रेम गर्न रोक्न सक्थेँ म, न त उसले कहिले आफूलाई प्रेम गर्नैपर्ने चाहना राखी मेरो सामु । ऊ सधैं आफ्नो मनको गाग्रो खाली पारेर मेरो मनको घडा भर्न तम्सीरही।
एउटा यस्तो मोड आएको थियो जीवनमा जुन मोडमा पुगेपछि सोचेको थिएँ मैले सधैंका लागि उसको हात थाम्छु भनेर। मेरो आफ्ना सपनाहरूका सारा बाटा बन्द भैसकेका थिए। मलाई उसको माया लाग्यो या उसको एकोहोरोपन प्रति दया लाग्यो कून्नि के भयो! जे होस् मैले स्वीकारेँ उसलाई अझ भनौ मैले सम्झौता गर्ने निर्णय लिएँ आफ्नै जीवनसँग आफ्नै मनसँग । उसो त त्यसलाई दयाको नाउँ कसरी दिउँ, म कयौँ पटक रोएको छु उसको पीडामा उसँगै। उसको हाँसोमा आफ्नो पनि मुस्कान मिसाएको छु मैले । खैर, उसको जीवनको क्यानभाषमा छर्की दिएँ खुसीको रङ्गको सानो छिटा जीवनभरीलाई पुग्ने रङ्ग दिने शर्तमा।
ऊ त्यो थोरै छिटालाई पनि धेरै उपयोग गर्न खोज्थी । आखिर उसलाई रङ्गाउनु थियो आफ्नो सँगै मेरो जीवन पनि । मेरा श्यामश्वेत रहरहरू बिलिन हुने तर्खरमा थिए, । ऊ मेरो चाहना थिइन तर ऊ मेरो जिम्मेवारी बनिदिई । मैले सोचेको थिएँ जीवनको यात्रामा समयले साथ दिउन्जेल सधैं हात थामेर हिँड्छु भनेर । उसको मनको बिश्वासले अर्को ऊर्जा दिन्थ्यो मेरो मनलाई । मलाई वास्तविक्तामा जिउनु थियो, मलाई थाहा थियो म उसको प्रेम थिएँ अनि म आफै जोडिन गएँ उसको जीवनमा उसका अप्राप्य सपनाहरूलाई बिपनाको बाटो देखाउन । भन्ने नै हो भने आफैंले देखाउन थालेँ उसलाई हाम्रो अकल्पनीय भविष्यको धमिलो धमिलो मानचित्र ।
फेरि पनि नियतिले अरू नै केही लेखेको रैछ । समय हाम्रो साथमा रहेन । ऊ मसँगै थिई त्यसले डोहोराएर पुर्याउने अर्को मोडसम्म । जिन्दगीले उसको साथमै पुर्यायो मलाई त्यो दोबाटोमा जुन दोबाटो पुगेपछि मलाई रोज्नु पर्ने भयो आफ्नो प्रेम र जिम्मेवारी मध्ये कुनै एक । दुबैलाई सँगै लिएर हिँड्न सम्भवको कुरा थिएन । अचम्म लाग्छ जीवनलाई फेरि दिनु नै थियो भने किन खोसेर लग्यो मेरा सपनाहरू ! त्यो त ठिकै थियो फेरि अँध्यारोमै धकेल्नु थियो त किन दियो त उसलाई उज्यालोको सानो प्रकाश ? नियतिलाई खोस्नु रैछ उसको जीवनको हाँसो, मलाई मेरा खुशीहरू दान दिएर । गज्जबको खेल खेलिदियो त्यसले । उसले आफ्ना सपनाहरू प्राप्त गर्न मैले मेरा सपनाहरूको दहासंस्कार गर्नु पर्ने थियो, मैले मेरो सपनाहरू प्राप्त गर्न उसलाई उसका सपनाहरूको बली चडाउन पर्ने थियो । मैले जिम्मेवारी त्यागेँ आफ्नो प्रेमको लागि । उसले आफ्नो प्रेम त्यागी मलाई सधै खुसी राख्न पर्ने जिम्मेवारीलाई सम्झेर । अचेल लाग्छ प्रेम पनि एउटा सम्झौता हो । आफ्नो खुसी र सन्तुष्टिका लागि गरिने सम्झौता । म सजिलै अड्कल काट्न सक्थेँ उसको मनोदशा सायदै कतै खुसी थिई मेरो खुसी सम्झेर, कतै दुःखी थिई होली मृत्युबरण गरेको आफ्ना रहरहरूको शोकमा। कतै रोई होला मैले सधै साथ दिन्छु भनेर दिएको पुरा हुन नसकेको बाचा सम्झेर, कतै हाँसी होली आफूले सधै खुसी राख्छु भनेर पूरा गरेको आफ्नो बाचा सम्झेर।
खै किन खेल्यो जीवनले यस्तो खेल, कसैलाई हँसाउन कसैलाई रुवाउनै पर्ने यो नियम हो या बाध्यता ? म अरुको नहुन्जेल ऊ मेरै भैरही । उसले सधैं मेरो हाँसो हेरी आफ्नो सन्तुष्टी भन्दा अगाडि । गन्तव्य थिएन तर पनि हात थामीरही मेरो । उनी एकै ठाउँमा लाखौं पटक घुमीरही अनि अन्त्यमा महसुस भयो सम्बन्ध जहाँबाट सुरु भएको थियो त्यहीँ रहेछ त्यसको अन्तीम बिन्दु पनि । सायद सम्बन्ध सुरु नै भएको थिएन, एउटा भ्रम थियो त्यो । म अरुको भएपछि बिदाइको अन्तिम साइत दिन ऊसँग भएको त्यही आफ्नो रित्तो गाग्रोलाई आफ्नै आँसुले भरेर मेरो सुन्दर भविष्यको प्रार्थना गरेर बिलिन भै मेरो जीवनबाट।
मैले उसलाई केही पलको लागि “एक” दिएँ प्रफुलित बनाएँ, अनि केही छिनमै लुटेर हिँडेँ उसको साथको “सय” सँगै आफूले दिएको एक पनि तर अझै मलाई कुनै गुनासो नभिराई गै ऊ । आफ्नै जीवनलाई सयौ प्रश्नहरू खडा गरेर ।
***
अनि ऊ एक्लैले पोती जीवनलाई सुन्दर पाटीमा, आज पूर्ण छे ऊ । नियतिले उसको एउटा खुसी खोस्यो र खोलीदियो लाखौँ मुस्कानको ढोकाहरू । आज ऊ सफल छे, एक सफल गृहीणी, एक सफल आमा । आज देखेँ उसको आँखामा सन्तुष्टीको चम्किलो प्रकाश जब आफ्नी छोरीको बिहेको निम्तो दिँदै थिई मलाई। जाँदा जाँदै आज छोडेर गई आफ्नो उही पुरानो मुस्कानको मिठो छाप मेरो नयनभरी। के बिर्सी होली र उसले आफ्नो अतितको अति प्रिय म पात्रलाई ? हुन त अचेल मभन्दा प्रिय मेरा यादहरू होलान् । ती यादहरू भन्दा अझै प्रिय उसको आफ्नो जिम्मेवारी । उतीबेला उसलाई जाने बेला भनेको थिएँ– सधै खुसी हुनू भनेर । आज ऊ मुस्काएकी छे भ्रमरहित आफ्नो वर्तमानमा ।

सेतोपाटीमा प्रकाशित मिति: शनिबार, बैशाख १२, २०७२

http://setopati.com/sahityapati/27334/

​फेरि उठ्छौँ, ठडिन्छौँ हामी

२०७२ साल बैसाख १२ गते। दिउँसोको १२ बजे आसपास। दिन हुँदाहुँदै पनि कालो निष्पट्ट अन्धकार बनिदियो सारा नेपालीका लागि। जमिनसँगै हल्लिए धेरैका कल्पना, खल्बलिए कयौँ सपना, क्षतविक्षत बने कति मुस्कान र हाँसो, नोक्सान भयो कयौँ बस्तीसँग जोडिएका खुशीको र तहसनहस बन्यो वर्तमान। भत्किए कति बिपना अनि चर्किए लाखौँ वास्तविकता। 

अझै लाग्छ सायद, यो नमिठो विपना केबल एउटा सपना भैदिए, झस्किएर बिउझिँदा काठमाडौंको सुन्दर आकास छुन अग्रसर धरहरा त्यहीँ देखिन्थ्यो होला। देखिन्थ्यो होला ननुघी अटल उभिएको हाम्रो सान त्यहीँ। अपसोच त्यो एउटा अकल्पनीय वास्तविकता हो। पत्याउन अझै गाह्रो पर्छ, धरहरा रहेन अब। हो धरहरा ढलेको हो तर उसको उचाई घटेको छैन। लडेको हो धरहरा तर हाम्रो स्वाभिमान डग्मगाएको छैन। 

मन एकाएक कहालिँदै रुन खोज्छ सम्झँदा ती ऐतिहासिक धरोहर। हाम्रो अतित लुकेका सम्पदा। पुर्खाले विश्वासका साथ सुम्पेका वहुमूल्य नासोहरू। कति तीतो सत्य त्यो। हो स्वीकार्छु भत्केका हुन् बुढ्यौली लागेका धरोहरहरू, थिचिएका हुन् पुरानिएका सम्पदाहरू तर अझै नयाँ छन् इतिहास भित्र लुकेका हाम्रा गाथाहरू। झस्को पस्छ मन भित्रै, लौ ठाउँ ठाउँ चर्कियो अरे स्वयम्भूका भित्ताहरू। के भूकम्पले चर्कायो होला र शान्तिका सन्देशहरू? न्याय अन्याय छुट्याउने दुई आँखाहरू? 

भक्कानिदै पुग्छन् यी आँखाहरू ती बस्तीहरूमा, जुन बस्ती कुनै बेला सुन्दर र शान्त थियो, कहालिँदै आएको त्यही दिनको छप्पन्न सेकेन्डले खँडहर बनाएका त्यही सुन्दर बस्तीतर्फ। देख्छु भर नभएको वर्तमानका आँखा भित्र  भविष्यको धमिलो आशा, टुटेका सपनाहरूको भग्नावशेष, अन्तिम लाठी गुमाएका वृद्ध मुहार, जिउन लालायित त्रसित आँत, अनि देख्छु काख गुमाएका टुहुराहरू। ए, प्रकृति तँ कसरी यति क्रुर बनिदिइस् हाम्रो लागि? 

बिपत्तीले खोसिदियो हजारौँ श्वास अनि कयौँ जिउने चाहना। तर अहँ खोस्न सकेन हामी बिचको भाइचारा अनि हामीभित्र गढेको राष्ट्रप्रेम। कति मानवलाई मारी दियो तर आँच पुराउन सकेन हामी भित्र जीवित रहेको मानवतालाई। प्रकृति निर्दयी बनिदियो त्यसको निर्दयीपनलाई हामीले बलियो बन्ने आधार मान्यौँ। हामी लडेका छौँ, ढलेका छौँ तर मरेका हैनौ। उठ्छौ र ठडिन्छौ अवष्य एकदिन बलियो मजबुतीका साथ टक्टकाएर लागेका धुलो। 

भूकम्पबाट त बच्यौँ हामी अब हामीलाई जिउनु छ। बनाउनु छ भत्केका घर, टाल्नु छ फाटेका मन। देश लुलो बनेको छ मिलेर तङ्ग्राउनु छ। एक फेर सकारात्मक भई यसरी सोचौँ न, “विकास अघिको विनास यस्तै भयानक हुन्छ। के थाहा प्रकृतिले हामीलाई अन्याय गरेर न्याय गर्न खोजेको हो कि।” र त्यो तब सम्भव छ जब हामीले आफ्नो आत्मविश्वास दरिलो बनाइ मिलेर देश बनाउन अघि सर्छौं। 

पहिलोपोस्टमा प्रकासित  - | 8th May 2015 | २५ बैशाख २०७२
http://www.pahilopost.com/content/-3995.html

Wednesday, April 8

धुन टुटेको प्रेमगीत

सलेदो सकिएको मैनबत्ती जस्तै
तेल सकिएको दियो जस्तै
धिपधिप धिप्धिपाउने
अधुरो अपुरो रहेछ ऊ त ।

नचाहेरै गएथेँ म प्रेमिल रङ्ग ओर छोडेर
अनौठो एउटा क्यान्भास बोकेर
पोतिदियो अनेकौँ रङ्गले तर
खुद स्यामश्वेत जिन्दगी जिउँदै रहेछ ऊ त ।


आफ्नै सुगन्ध नठम्याउने कस्तुरी बनी
खोज्दै थिएँ प्रेमको सुवास त्यसरी म पनि
भेट्टाएँ त्यहाँ फालिएका धेरै प्रेमका भ्रुणहरू
छ्या दुर्गन्धित दुर्गन्धित रहेछ ऊ त ।      


अनि फर्किएँ त्यहि बाटो एउटा विश्वास लिएर
कल्पनाले रङ्गीन जिन्दगीलाई गिज्याउँदै थियो
स्वीकार्य थियो तितो, नमिठो सत्य पनि
तर, मेरै लागि एउटा मिठो प्रेम मुस्काउँदै थियो ।


सेतोपाटीमा प्रकाशित मिति: बिहीबार, चैत्र २६, २०७१ ०९:४६:३३

http://setopati.com/sahityapati/26711/

Thursday, April 2

निर्दोष भ्रुण

यौवनको प्यासमा लिप्त 
आफ्नो प्रेमको तृष्णा मेट्न 
सम्साझै एक युगल जोडी 
हुर्रिन्छन् हाइवेबाट थोरै पर 
सानो जंगल सानो कटेराे
अनि त्यो अव्यवस्थित प्रेम।

सम्झदैनन् आफ्नो प्रेमको दायरा 
बुझ्दैनन् एक बिन्दुमा पुगेर सकिने सीमा 
नाङ्गिएको आत्मा सँगै नाङगिन्छन् 
आफू आफू एकअर्का सामू 
न त रोक्न सक्छ समाजको बन्धनले 
न त रोक्न सक्छ त्यो अत्तालीएको मनले।

सामाजिक बन्धनलाई तोडेको खुसी, 
आफ्नो तृप्तीको 
नौलो चमक अनि 
सुनौलो स्पर्श बोकेर 
फर्कन्छन्। 

चिन्दैन अविवाहित प्रेम त्यस्ले 
बुझ्दैन आफ्नो अघोषीत बाबुको धोका 
बस् बास बसिदिन्छ त्यो भ्रुण; 
स्वघोषित चोखो प्रेमको सौगातले 
ठम्याउदैन आफ्नी आमाको 
अविकशित पाठेघर। 

अनि, 
ऊ नजन्मिदै, उस्को हत्याको 
षड्यन्त्र रचिन्छ कतै,
ऊ भगवान्ले दिएको वर्दान हुदैन, 
कीन कि ऊ एक चिम्टी सिन्दुरको 
आडले जन्मेको हुदैन। 
ऊ त मात्र आफ्नी आमाको 
गल्तीले हुर्केको भ्रुण हुन्छ। 

म बुझ्दिन,
किन लाञ्छना लगाइन्छ उस्की आमालार्ई
त्यो मात्र उस्की आमाको गल्ती कसरी भयो?
अझ बुझ्दिन,
प्रकृतीले स्वीकारेको सत्य 
गलत कसरी भयो?
ल मानौ त्यसलाई गलत नै 
तर कुन हकले यो समाजले उस्लाई पाप कहलाउँछ?
खै उस्को कुन गल्तीले, ऊ पाप ठहरीन्छ?

सेतोपाटीमा प्रकाशित मिति: मंगलबार, पौष १५, २०७१

http://setopati.com/sahityapati/22105/

जिन्दगीः भ्रमहरूको आँखीझ्याल

मेरो दिलकी दिलाशा। मेरी प्रिय छोरी दिलाशा। 
काखभरी छ, मन भरी र मेरो तनभरि छ, मेरो रक्तका कणकणमा छ। तर उसलाई एकरत्ती थाहा छैन, उसकी आमा म कस्तो तिक्त स्मृति पालेर बाँच्न सकेँ, उसलाई जन्माउन सकेँ। 
सिर्फ दिलाशालाई अमृत पान गराउन मैले नियति र बाध्यताका सैकडौँ घुटका विषपान गरेँ, उसले अनुमाननै गर्न सकेकी छैन। अहिले त जीवनको लालुपाते फक्रिन लागी ऊ। त्यसैको आभा अनुभूत गरिरहेकी छु आज।
***
हिजो– जो अब धूमिल स्मृति मात्र बनेको छ मेरो मनको आकाशमा। स्मृतिका पानाहरू एक एक गर्दै पल्टाउँदा कहिँकतै महसुस हुन्न यादहरू मैलिएका या धमिलिएका। 
मैले जिन्दगीमा के के चाहेँ अनि के के पाएँ त ? पाएको कुरा चाहना थियो त ? चाहेको कुरा प्राप्त भयो त ? या पाएको कुरा चाहना हो त ? चाहनाको मापन कसरी गर्ने भन्ने कुरामै अल्झिइने रहेछ जीवनको महत्वपूर्ण आयाम। अहँ आज कहिँकतै गुनासो छैन जिन्दगीसँग। जिन्दगी खुशी छ, खुद आफैसँग। 
कहिले आफैलाई गिज्जाउँदै हाँस्छ त्यो, कहिले आफैसँग दया जागेर रुन्छ। रुँदा पनि कहिले भक्कानिएर रुन्छ त कहिले सुँक्सँुकाएर रुन्छ। कहिले गब्बर हाँसो हास्छ, कहिले शालीन मुस्कान मुस्काउँछ। 
यिनै कारणहरूले जीवन जीवन्त रहेको प्रष्ट पार्छ। कहिले हाँसेर रमाउँछ, कहिले रोएरै पनि रमाउँछ। हो, तर कतै गुनासो छैन जिन्दगीलाई आफैसँग। 
पाएको कुरामा सन्तुष्ट छ। कति कुरा पाउँदा पाउँदै पनि गुमायो त्यसले, कति कुरा गुमाउँदा गुमाउँदै पनि पायो। कति कुरा पाएरै पनि गुमायो कति गुमाएरै पनि पायो। कहिले जिन्दगी रुन पर्ने बेला रोएन बरु हाँस्यो, कहिले हाँस्नु पर्ने बेला हाँसेन रोयो। 
कहिले रुवाएर हाँस्यो, कहिले रोएर हँसायो। आखिर जिन्दगी सुख र दुःख, चाहना र प्राप्ति, प्रेम र तृप्ति, भोग र अभाव, नियति र सम्झौता, अनि हाँसो र आँसु यिनै भावनाहरूमा सीमित रहने रहेछ। 
जिन्दगीले कहिले डुब्न खोज्दा तैरिन सिकायो, कहिले तैरिन जानेपछि पनि डुबाइदियो। तर जे जस्तो भए पनि आज जिन्दगी हाँसेको छ, किनकि त्यसले सम्झौता गर्न जानिसकेको छ। तर कहिलेकाहीँ अतीतमा गुमाएको अर्थहीन कुरामा दया जाग्दो रहेछ मनमनै वर्तमानको मझेरीमा।  
***
अतितका बिस्कुनहरू मनको बार्दलीमा सुकाउदै जाँदा जीवन एक ठाउँमा आएर टक्क अडिन्छ। जीवनले त अन्तरकुन्तर केलाउँदै, निफन्दै अली अली पन्छाउँदै अलि अली सङ्गाल्दै अर्कै कथा लेख्ने रहेछ। 
मेरो सपना र चाहना भन्दा धेरै भिन्न। पन्छाउने क्रममा मेरै सपना र चाहना नचाहँदा नचाहँदै पन्छिएर गए। खै के रीस रैछ जिन्दगीलाई मेरा यावत् सपनाहरूसँग। अधुरो रहने सपना देखिन्छ नै किन? 
आखिर सपना देखाउने, पुरा नगर्ने अनि रुवाउने जिम्मा त त्यही नियतिकै हैन र ? साँचै कति दयाहीन भावनाको हुँदो रहेछ त्यो नियति। आज जे दियो त्यसले त्यो पनि स्वीकार्य छ। नकारेर के गर्नु? 
मसँग स्वीकार्नु बाहेक अर्को विकल्प पनि त कहाँ छ र ? बस् एउटै भ्रम साँच्ने मौका दिएको छ जिन्दगीले, आज खुशी छु तर विगतमा आत्महत्या गरेका त्यो रहरहरू वर्तमानमा जीवित रहेका भए अझै खुशी हुन्थेँ कि म। भ्रम, मात्र एउटा मीठो भ्रम।  
मनको आँखीझ्यालबाट विगत चिहाउँदा बतास बनेर स्पर्श गर्छ उसको सम्झनाले। के भनेर सम्बोधन गरूँ उसलाई जो मेरो हैन। या भनुँ जो मेरो कहिले भएन, या भनुँ जसलाई  नियतिले कहिले मेरो बन्न दिएन।
जिन्दगीको क्यानभाषमा उतार्न नसकिएको त्यो तस्वीर मनको क्यानभाषमा भने प्रष्ट देखिने गरी गाढा बनेर उत्रेको रहेछ। खैर, त्यो स्पर्श जसले गर्मीमा शितल महशुस गराउँथ्यो, जाडोमा न्यानोपनको आभास गराउँथ्यो। 
त्यही महशुसले कहिले निकै आत्मीय बनाउँथ्यो अनि कहिले निकै बिरानो मानौ कोही अपरिचत झै। कतै ऊ परिचित हुँदाहुँदै पनि अपरिचित थियो, कतै अपरिचित हुँदाहुँदै पनि परिचित। 
त्यही परिचित र अपरिचितको दलदल जस्तोमा फँस्दो रहेछ जिन्दगी अनि कालान्तरमा केवल याद मात्र कालजयी बन्दो रहेछ वर्तमानको धरातलमा। 
कुन यादको सम्झना गर्नु? जुन आफ्नो कहिले थिएन। कसरी मानौँ म आफ्नो थिइँन भनेर। मेरो मन, मस्तिष्क, समय, कर्तव्य, सपना, चाहना अनि अरु अरु जे जे थियो सबै त्यही यादले हरण गरेर लगेको थियो। 
कुन याद, कुन सम्झना मेरो भनौँ या अरु कसैको? आफ्नो भनौँ, आफ्नो होइन। अरुको मानौ आफ्नो नभएको कुराको सम्झना किन ? त्यसो भए ऊ को हो त मेरो ? अनि म को हो त उसको ? प्रेमी ? कसरी भनौँ प्रेमी ऊ प्रेम गर्दैनथ्यो मलाई। नत्र के साथी ? अहँ, साथी हैन ऊ। म प्रेम गर्थे उसलाई। 
हो, हद पार गरेर प्रेम गरेँ उसलाई। त्यसो त सायद सम्बन्धहीन सम्बन्ध थियो त्यो।  कति प्रश्नहरू त जीवनभरीलाई अनुत्तरित राखिरहने रहेछ जिन्दगीले। जिन्दगीको पँधेरीमा रित्तै जाने हो तर कहिले भरेर पठाउँदैन रहेछ। 
कहिले भर्दाभर्दै मुहान सुकाउँदो रहेछ। कहिले भराएर पोखाउने रहेछ। उही आधी–अधुरो अपूरो रहेर मुस्काउनु पर्ने बाध्यता। तर जे होस् जिन्दगीले सिकायो मुस्काउन, भरी रहँदा भारी हुन्थ्यो, अपूरो हुँदा हुलुङ्गो भयो। यसरी सकारात्मक बन्न सिकायो जीवनले। 
म उसलाई गुमाएँ भन्छु तर ऊ गुम्यो कसरी? ऊ मेरो थियो नै कहिले? म पाइन भन्छु उसलाई चाहेको थिएँ र कहिले ? बस् रोजेको थिएँ अन्तरआत्मादेखि नै। 
त्यो मेरो वसमा थिएन। रोज्न नपाउने रोक थिएन मलाई अनि मलाई चुन्नैपर्ने कर थिएन उसलाई। मनको अदालतले मलाई न्याय ग¥यो सधै गरिरह्यो तर समयको कठघरामा उभिँदा म हारेँ कतै उसलाई जिताउने रहरले हारे कतै जित्ने रहर हुँदा हुँदै पनि हारेँ। 
कतै आफू हार्नै पर्ने समयको खेलले हरायो कतै मेट्न नसकिने लेखिएको नियतिले। हार्नु मेरो नियति थियो, हारेर पनि मुस्काउनु पर्ने कतै मेरो बाध्यता अनि ऊ जितेको खुशीमा रमाउने कतै मेरो रहर। 
***
सोचे जस्तो केही भएन। जिन्दगी सोचेकै जस्तो भए त कहाँ जिन्दगी कहलिन्थ्यो र ? यहाँ सोचेको कुरा हुँदैन नसोचेको कुरा हुन्छ। यहाँ चाहनाले केहि नाप्दैन नियतिले गर्छ जे गर्नु छ। 
हुन पनि डोकोमा दुध अट्ने आशा र विश्वास राखेर पनि के औचित्य। मेरा रहरहरू ऊबाटै सुरु भएर उसमै अन्त्य हुन्थ्यो। मेरो वर्तमान ऊ थियो अनि कल्पना भित्रको भविष्य पनि ऊ। मेरो चाहना ऊ थियो प्राप्तिको अन्तिम बिन्दु ऊ। 
तर, म न त उसको वर्तमान बन्न सकेँ, न त उसका आँखाले मसँगको भविष्य देख्न चाह्यो। मेरो सुरुवात नै ऊ थियो अनि अन्त्य पनि तर म त सुरु हुनुअघि नै अन्त्य बनेकी थिएँ। ऊ आफूलाई मेरो प्रेमको लायक सोच्दैन थियो म उस्लाई झन् रित्तिएर प्रेम खन्याउँथे। पर्खनु बाहेकको विकल्प थिएन किनकि अब बाँकी केही थिएन। प्रेमको अर्को रूप समर्पण। ऊ प्रतिको समर्पण नै मेरो चोखो प्रेमको निसानी बन्यो।
आखिर पर्खाइलाई केले मापन गर्ने त ? यो सही हो कि प्राप्तिकै लागि पर्खिने हो तर प्राप्तिको चाहले पर्खनु त स्वार्थ भएन र? प्रश्न उठ्यो पर्खने कहिलेसम्म ? प्राप्तिको चाह बिनाको पर्खाइको के औचित्य ? मान्थेन मन तर मनाएँ जर्बजस्ती मनाएँ नचाहेरै मनाएँ। हो यहीनिर चुकेँ म, पुन हारेँ। मेरो समाजिक परिवेशले हरायो मलाई, फेरि त्यही नियतिले हरायो। जिन्दगीको अर्को नाउँ सम्झौता हो। अनि मैले सम्झौता गरिदिएँ। सम्झौता आफैसँग, आफ्नै मनसँग जसको मनोकाङ्क्षा विशाल थियो।
***
अतीतका त्यो पलहरू नयनका डिलबाट सुइँकुच्चा ठोक्न लालयित थिए। दिलाशाको चिच्चाहटले म झस्किएँ। ती अश्रुदानाहरूलाई नयनकै कुनै कुनामा पुनः कैद गरेर ऊतिर फर्किएँ। 
मेरो भ्रमरहित् वर्तमान, त्यो सपनामा नअटाएको मेरो वास्तविकता मेरी छोरी, मेरी दिलाशा। आज छोरीको आवाजमा, आँसुमा, हाँसोमा, आकृतिमा अनि पुकारमा आफ्नो पूर्णता भेट्छु म। दिलाशा मेरो जीवनमा मलाई दिलासा दिन आइन्। साँच्चै यो जीवनमा उनको आगमनले पूर्ण बनाइदियो मलाई। 
कोठा भित्र छोरीको आगमनले मन एकाएक उज्यालियो मैले अतीत बिर्सिएँ अनि महशुस भयो विगतको अति प्रिय ऊ, अहिले ऊभन्दा प्रिय त उसको याद बनेछ। अनि ती यादहरू भन्दा सयौँ गुणा प्रिय आफ्नो जिम्मेवारी। चाहना बिनै प्राप्त भएको यो सुखी वर्तमान। 
उष्णतापूर्वक मेरो अन्तरले भनिरहेछ– जुन नियति भोग्न विवश भएँ म, कमसेकम मेरी छोरी दिलाशाले यस्तो कहिल्यै कहिल्यै भोग्नु नपरोस्। यसखाले भ्रम र दिग्भ्रमहरूको आँखिझ्यालमा कहिल्यै चिहाउन नपरोस् उसले।    

सेतोपाटीमा  प्रकाशित मिति: आइतबार, माघ ४, २०७१

http://setopati.com/sahityapati/22997/

मान्छे/पशु

कसरी मार्न सकिस् तैँले 
हाँस्न खोज्ने रहरलाई 
खिलखिलाउँदै नाँच्न खोज्ने पाइलाहरूलाई।

कस्तो प्यास मेटाइस् तैँले 
चुँडाएर पखेटा नि
उड्न खोज्ने पुतलीको। 

कुन खुसीले नङ्ग्याइस् होला 
पत्रपत्र च्याती तैँले 
त्यो कलिलो मुनालाई। 

लागेन र डर तँलाई आफ्नै आत्मासँग 
कुन सन्तुष्टिले मात्तिइस् तँ
छुँदा सानो कोपिलालाई। 

भन् कसरी तँ हाँसिस् हेर्दै
टुक्रिएको आँतसँगै
क्षतविक्षत अङ्गहरूलाई?

तेरो पशुवत् प्रवृत्ति 
ह्वाङ्गै र उदाङ्गै बनिसक्यो
धिक्कार छ मान्छे भित्रको पशुलाई।

सेतोपाटीमा प्रकाशित मिति: मंगलबार, फाल्गुण २६, २०७१

http://setopati.com/sahityapati/25397/

My Blog List

Powered by Blogger.