Saturday, May 9

​फेरि उठ्छौँ, ठडिन्छौँ हामी

२०७२ साल बैसाख १२ गते। दिउँसोको १२ बजे आसपास। दिन हुँदाहुँदै पनि कालो निष्पट्ट अन्धकार बनिदियो सारा नेपालीका लागि। जमिनसँगै हल्लिए धेरैका कल्पना, खल्बलिए कयौँ सपना, क्षतविक्षत बने कति मुस्कान र हाँसो, नोक्सान भयो कयौँ बस्तीसँग जोडिएका खुशीको र तहसनहस बन्यो वर्तमान। भत्किए कति बिपना अनि चर्किए लाखौँ वास्तविकता। 

अझै लाग्छ सायद, यो नमिठो विपना केबल एउटा सपना भैदिए, झस्किएर बिउझिँदा काठमाडौंको सुन्दर आकास छुन अग्रसर धरहरा त्यहीँ देखिन्थ्यो होला। देखिन्थ्यो होला ननुघी अटल उभिएको हाम्रो सान त्यहीँ। अपसोच त्यो एउटा अकल्पनीय वास्तविकता हो। पत्याउन अझै गाह्रो पर्छ, धरहरा रहेन अब। हो धरहरा ढलेको हो तर उसको उचाई घटेको छैन। लडेको हो धरहरा तर हाम्रो स्वाभिमान डग्मगाएको छैन। 

मन एकाएक कहालिँदै रुन खोज्छ सम्झँदा ती ऐतिहासिक धरोहर। हाम्रो अतित लुकेका सम्पदा। पुर्खाले विश्वासका साथ सुम्पेका वहुमूल्य नासोहरू। कति तीतो सत्य त्यो। हो स्वीकार्छु भत्केका हुन् बुढ्यौली लागेका धरोहरहरू, थिचिएका हुन् पुरानिएका सम्पदाहरू तर अझै नयाँ छन् इतिहास भित्र लुकेका हाम्रा गाथाहरू। झस्को पस्छ मन भित्रै, लौ ठाउँ ठाउँ चर्कियो अरे स्वयम्भूका भित्ताहरू। के भूकम्पले चर्कायो होला र शान्तिका सन्देशहरू? न्याय अन्याय छुट्याउने दुई आँखाहरू? 

भक्कानिदै पुग्छन् यी आँखाहरू ती बस्तीहरूमा, जुन बस्ती कुनै बेला सुन्दर र शान्त थियो, कहालिँदै आएको त्यही दिनको छप्पन्न सेकेन्डले खँडहर बनाएका त्यही सुन्दर बस्तीतर्फ। देख्छु भर नभएको वर्तमानका आँखा भित्र  भविष्यको धमिलो आशा, टुटेका सपनाहरूको भग्नावशेष, अन्तिम लाठी गुमाएका वृद्ध मुहार, जिउन लालायित त्रसित आँत, अनि देख्छु काख गुमाएका टुहुराहरू। ए, प्रकृति तँ कसरी यति क्रुर बनिदिइस् हाम्रो लागि? 

बिपत्तीले खोसिदियो हजारौँ श्वास अनि कयौँ जिउने चाहना। तर अहँ खोस्न सकेन हामी बिचको भाइचारा अनि हामीभित्र गढेको राष्ट्रप्रेम। कति मानवलाई मारी दियो तर आँच पुराउन सकेन हामी भित्र जीवित रहेको मानवतालाई। प्रकृति निर्दयी बनिदियो त्यसको निर्दयीपनलाई हामीले बलियो बन्ने आधार मान्यौँ। हामी लडेका छौँ, ढलेका छौँ तर मरेका हैनौ। उठ्छौ र ठडिन्छौ अवष्य एकदिन बलियो मजबुतीका साथ टक्टकाएर लागेका धुलो। 

भूकम्पबाट त बच्यौँ हामी अब हामीलाई जिउनु छ। बनाउनु छ भत्केका घर, टाल्नु छ फाटेका मन। देश लुलो बनेको छ मिलेर तङ्ग्राउनु छ। एक फेर सकारात्मक भई यसरी सोचौँ न, “विकास अघिको विनास यस्तै भयानक हुन्छ। के थाहा प्रकृतिले हामीलाई अन्याय गरेर न्याय गर्न खोजेको हो कि।” र त्यो तब सम्भव छ जब हामीले आफ्नो आत्मविश्वास दरिलो बनाइ मिलेर देश बनाउन अघि सर्छौं। 

पहिलोपोस्टमा प्रकासित  - | 8th May 2015 | २५ बैशाख २०७२
http://www.pahilopost.com/content/-3995.html

0 comments:

Post a Comment

My Blog List

Powered by Blogger.