Monday, September 21

‘खुसी’ले नदिएको खुसी

(मदन पुरस्कारको घोषणापछि मेरो मनको प्रतिक्रिया)


आजभोलि बजारमा साहित्यको जगेर्ना गर्ने कम, व्यापार गर्ने ज्यादा भएका छन् । भावनाहरू शब्दमा पोखिन भन्दा पनि धेरै बजारमा खोक्रो चर्चा बटुल्नमा व्यस्त हुन थालेको देखिँदैछ । अचेल साहित्य कतै मिडियाको पुच्छर बन्दै छ त कतै पैसावालाहरूको रखवाला ।

केही समयअघि मात्रै एकजना प्रतिष्ठित लेखकको उपन्यास सार्वजनिक भएको थियो । किताबको आवरण देख्नु पूर्व म निक्कै नै लालायित अझ भनौं प्रतिक्षारत थिएँ त्यो पुस्तकको लागि तर जब त्यो पुस्तक हातमा पर्यो नढाँटी भन्दा पुस्तक पल्टाइरहने झन्झटसम्म पनि गर्न मन लागेन । पुस्तकको आवरणले पुस्तकलाई भन्दा धेरै त लेखकको नामलाई बिकाइरहेको थियो । कसो झुक्किएन लेखकको नाम चाहि पुस्तकको अनि पुस्तकको नाम चाहिँ लेखकको हो भनेर ।

कहिलेकाहीँ मेरो मस्तिस्कले ढुङ्ग्रो फुक्ने गर्छ के होला यदि कसैले पनि आफ्नो पुस्तकको अगाडि नाम नझुन्ड्याउँदो हो त ? सायद साहित्यले सही ढङ्गले न्याय तब पाउने थियो जब कुनै किताबको अघि चर्चित पब्लीकेसन र प्रतिष्ठित लेखकको नाम उल्लेख नगरिँदो हो त । सफा, सरल अनि योग्य लेखनको पिछा गरेर लेखकसम्म पुग्न पाए पाठकको मनले पनि न्याय पाउँथ्यो होला बरु । खैर, यो त मेरो कल्पनाको कुरा मात्रै भयो ।

मलाई अचकाली रीस त त्यस्ता पुस्तकहरूसँग उठ्छ जसले त्यहि चर्चित नामको आडमा पढ्न रुचाउनेहरूले उठाउन नसक्ने मूल्य तोकेर साहित्यलाई लिलामीमै राखिरहेका हुन्छन् । मूल्यकै आडमा पुस्तक भित्रको सामग्रीलाई मूल्याङ्कन गर्ने हो भने मुनामदन जस्ता पुस्तकहरूको अस्तित्व धेरै अघि नै बिलाउने थियो साहित्य जगत्बाट ।

‘शिरिषको फूल’ जस्ता अमर कृतिले स्थान पाउने मदन पुरस्कारको गरिमा माथि नै आँच आउने गरी बिग्रँदै छ साहित्यको बाटो । ‘खुसी’ आफैमा नराम्रो कृति पक्कै हैन तर मदन पुरस्कार जस्तो गरिमामय सम्मान आत्मप्रशंसा मात्र समेटिएको व्यक्तिविशेषको आत्मवृतान्तलाई सुम्पनु त अन्य सुन्दर र योग्य पुस्तक माथिको अन्याय मान्छु म त ।

पढ्दै आएको दर्शनलाई आफ्नो व्यक्तिगत जीवनमा ढालेर पुस्तक लेख्नु आफैमा गाह्रो काम हुँदै हो त्यसका लागि लेखकको लेखनी प्रशंसनीय नै छ तर यति बेला हजारौं पाठकहरूको मनमा खेलेको कुरा यति हो, ‘सायद मदन पुरस्कारलाई मिडियाको तागतका अघि जोखिम मोल्ने रहर नभएको हो कि ।’ या मदन पुरस्कार नेपालको ठूलो साहित्यिक पुरस्कार नभएर गोजी पुरस्कार बन्ने बाटोतिर लम्किदै हो कि । छोटोमा भन्दा खुसीले अहिले आएर म मात्र हैन म जस्ता हजारौँ पाठकहरूलाई खुसी बनाउन सकिरहेको छैन ।

‘कर्णाली ब्लुज’ को सफलता लगत्तै लेखकलाई अर्को पुस्तक निकाल्न चुनौती बनेको छ । तर यो कुरामा लेखक ढुक्क बन्दा हुन्छ, ‘कर्णाली ब्लुज’ नामकै आधारमा उहाँको आगामी पुस्तकले बजारमा राम्रै हल्ला फैलाउने कुरामा कुनै दुई मत नै छैन ।

अहिलेको साहित्यिक बजारमा अनावश्यक चर्चा बटुलेर पुस्तक बिकाउने प्रवृति मौलाउदै गएको छ । यो आफैमा लजास्पद कुरा हो । किताबको बाहिरी आवरण, लेखकको नाम अनि अनावश्यक फैलिएको चर्चाकै आधारमा किताबको मूल्याङ्कन गर्दै जाने हो भने साहित्य जगत अन्धकारतिर धकेलिने निश्चित छ ।

Saturday, September 12

मसरूम पिज्जा


मनको चिहानमा कति भेटिन्छन् यादका कङ्कालहरू। जलेको मनसँग कहिले जल्न नसकेका ढुसी परेका अनि माकुराले जालो बुनेका सपना र रहरहरूको अस्तु मनभरी सँगालेर बाँच्दै छिन् सविता। कहाँबाट सुरु गरुँ म उनको कहानी, त्यो कहानी जसको आरम्भमै अन्त्य थियो। कति पटक जीवनमा कति कुराहरूको सुरुवात नै अन्त्य हुने रहेछ अनि अन्त्य मात्रै अर्को सुरुवात। सविता रुझेको शरीरबाट तप्प तप्प पानी चुहाउँदै सधैं दुक्लै बनेर आउने अनामनगरको उही पुरानो रेस्टुराँमा एक्लै छिरिन् आज। नियालिन् एक छेऊको चियरलाई। कोही व्यस्त थियो चुरोट फुक्न मै। बेवास्ता गरेर बसिन् अर्को कुनामा। न्याप्किनले भिजेको मुहार पुछ्दै वेटरलाई इसारा गरिन्, बोलाइन्। झस्किइन् तब, जब मुस्काउँदै उही पुरानै वेटरले सोध्यो, आज एक्लै? दाइ आउनु भएन? सविताले त्यसको उत्तर दिन चाहिनन् सायद, नसुने झँै गरेर भनिन,् एउटा मसरूम पिज्जा। वेटर अर्डर लिएर गयो।  छेऊको टेबलमा भर्खरै कसैले सकिन लागेको चुरोटको ठुटो एस्ट्रेमा झोसेर गएको छ। ‘साँच्चै यादहरूको तुवाँलो पनि त्यही चुरोटको धुवाँ जस्तै किन सधैं मनभरी फुङ्ग उडिराख्छ होला?’ यस्तै केही सोचिन् अनि त्यही कुर्सीतिर सरिन्। हो त्यो त्यही कुर्सी थियो– जहाँ उनी पहिलो भेटमा निमेशसँग बसेकी थिइन्। नाप्दै थिइन् त्यो कुर्सीमा दुई बनेर आएका दिनहरू र आज एक्लै अन्तिम अलबिदा छोडेर जाने दिनको दूरीलाई। मौसम उही बर्षातको थियो, उनले लगाएको रातो सर्ट उही, झुप्प भिजेको कपाल उस्तै अब त कुर्सी पनि उही। सविता अतित सम्झेर मुसुक्क मुस्काइन्।  त्यो मुस्कान उनको मुहारमा केही समयको पाहुना मात्रै भयो। पुनः निराश भइन् यो सम्झेर कि यसपाली त्योे कुर्सीमा उनी एक्लै थिइन्।  
००० 
महिनौँ दिन देखिको फेसबुक च्याट पछि एकदिन अनायासै निमेशले भेट्ने प्रस्ताव राखेको थियो। खोई मनको कुन तरङ्गले तानेर उनले त्यो प्रस्ताव स्वीकारेकी थिइन् कुन्नी ! जे होस् त्यही दिन पछि उनको जीवनले अर्को छुट्टै अध्याय तय गरेको रहेछ। कुन तोडले साउने झरीमा रुझ्दै पुगेकी थिइन् भर्चुअल मित्रतालाई वास्ताविकतासँग जोड्न उनी अनामनगर ! खैर एउटा नौलो चमक थियो उनको मुहारभरी सायद मनभरी पनि । औपचारिकता निर्वाह गर्दै के खान्छौ भनेर निमेशले गरेको प्रश्नको उत्तरमा हँस्यौली पाराले सविताले भनेकी थिइन् “तिम्रो मुस्कानको घुट्को पिएर झ्याप हुने रहर छ ।” त्यो रमाइलो ठट्टा कालान्तरमा उन्को जीवनको वास्तविकता बन्ने छ भन्ने कुराको अड्कलसम्म लगाएकी थिइनन् सविताले।   
००० 
टेबलमा अर्डर बमोजिमको एउटा पिज्जा आइपुग्यो स्मल साइजको। सविताले छोटो मुस्कान दिएर वेटरलाई बिदा दिइन्। उसको मुस्कानमा अब नआउनु है भन्ने कुराको भाव प्र्रष्टैै झल्किन्थ्यो। पिज्जा पनि उनको मन जस्तै डढेको रहेछ ! फरक यति हो पिज्जा डेढेर अलिअलि कालो देखिन्थ्यो उनको मन कहिल्यै कालो बनेन। नकारात्मक चिजमा पनि सकारात्मक चिजको खोजी गरेर स्वीकार्ने बानी जो थियो उनको।  
००० 
झरीले लत्पताएको गाजललाई साथमा रहेको सलले मिलाउन खोज्दै थिइन् सविता। निमेश उसको हरेक कृयाकलापलाई लुकेर नियाल्दै थियो। वेटर दुईवटा प्लेट लिएर टेबलमा आयो। दुबै प्लेटमा एक एक वटा स्मल साइज मसरूम पिज्जा। मनमनै खिन्न भइन् सविता कारण उनलाई मसरूम अनि पिज्जा कहिलै मन नपरेको चिज थियो। पहिलो भेट सवितालाई पनि इम्प्रेसन जमाउनु थियो, सँगै भोकले पनि आकुल भएकी थिइन्। खिस्स मुस्काइन् अनि खान सुरु गरिन् कहिलै मन नपरेको पिज्जा पनि। दिन ढल्दो थियो। खाजा खाइसकेर दुबै सँगै निस्किए।  त्यसपछिका दिनहरूले उनीहरूको मित्रतालाई झाङ्गिने नयाँ नयाँ बहाना दिन थाल्यो।  निमेशको बिहान सवितालाई मिस्कल दिएर सुरु हुन्थ्यो। सविताको निन्द्रा निमेशको मिस्कल रुपी अलार्मले मात्र खुल्थ्यो। अब दुबै निकै मिल्ने साथी भइसकेका थिए। सविता दिनभरीका हरेक घटनाहरू निमेशलाई बेलीबिस्तार लाएर सुनाउँथिन्। निमेश उस्तै चनाखो साथ सुनी दिन्थ्यो। सुख दुःखका कुराहरू दुबैले एकअर्कालाई बिना हिचकिचाहट सुनाउन थाले। दुबै एक असल मित्रको नमुना बनेका थिए। भनिन्छ, एउटा केटा र एउटी केटी कहिल्यै पनि साथी मात्रै रहन सक्दैनन्। समय फेरिएपछि यही भनाइलाई चरितार्थ पार्दै आफैलाई पत्तै नदिई निमेशलाई प्रेम गर्न थालिछिन् सविताले। निमेशका हरेक शब्दहरूले सविताको मन छोएर भाग्न थाल्यो। कहिलेदेखि आफ्ना हरेक सपनाहरूमा निमेशलाई समावेश गर्न थालिछिन् उनले। यो कुराको खबर खुद सवितालाई नै थिएन। निमेशले झन् सुइँको पाउने कुरै भएन। रात दिन सविता निमेशको कल्पनामा हराउन थालिन्। ससाना हँसीमजाकमा पनि सविता मनमनै खुसी हुने सिलसिला बढ्दै गयो। मनमै लड्डु फुटाउँदै बस्नु त चुलो नबाली दुध तात्छ भनेर ढुक्क हुनु जस्तै थियो। सान्दर्भिक समय कुर्नु थियो उनलाई। समय आएपछि बेलीबिस्तार लाएर सुनाइदिइन् आफ्नो मनका हरेक भावनाहरूलाई । निमेश अकमकिएर भनेको थियो, “सविता तिम्रो आकांक्षा किन यसरी बढेको हो? हामी त साथी मात्रै हैन र?” मनमा झिनो आशाको त्यान्द्रोलाई जीवन्त पार्दै प्रति उत्तरमा सविताले भन्ने गर्थिन्, “हिमालयन जाभामा सँगै कफी खाने रहरलाई पारपाचुके दिएर तिमीलाई हरेक बिहान बेड टि सर्भ गर्ने सपनाहरुसँग सम्बन्ध गाँस्नुलाई तिमी आकांक्षा बढेको सोच्छौ कि घटेको त्यो तिम्रो कुरा हो निमेश।” सविताका यस्तै यस्तै वाक्यहरुले निमेशलाई हरेक पटक निशब्द बनाउने गरेको थियो। केही समय सवितालाई बेवास्ता गरे पनि सायद आफ्नै मनसँग सम्झौता गरेर स्वीकारेको थियो निमेशले सविताको प्रस्तावलाई पछि। ऊ आफैले बनाउन थालेको थियो सुन्दर भविष्यको नक्सा एकएक गर्दै।  जवानीको ओठमा लाली चढ्ने बेला भर्खरै सुरु भएको थियो। सविताका आमाबाबु निक्कै चिन्तित थिए उनको भविष्यको बारेमा। घरमा उनको बिहेको कुरो चल्न थाल्यो– ‘केटो सरकारी जागिरे अझ अफिसर नै रैछ, सुखसँग राख्छ ।’ सविताकी आमा यस्तै सोच्दै थिइन्। यता सविता कल्पनाको अर्कै संसारमा बेफिक्री डुल्दै थिइन्। आमाले एक्कासी बिहेको कुरा सविताको अघि राख्दा उनी छाँगाबाट खसे झैँ भएकी थिइन्। यता निमेशले ‘कहिले साथ छोड्दिन’ भनेर दिएको बाचाले उनलाइ बलियो बन्ने ऊर्जा दियो। आमाबाबुको हरेक दिनको ढिपीले विक्षिप्त बनाएको बेला निमेश प्रतिको अन्धो विश्वासले उनलाई परिवार सामु आफ्नो प्रेमको बारे खुलस्त पार्न करै लगायो। केही समय बिहेको तगारोबाट पन्छिने त्यो भन्दा उत्कृष्ट उपाय अरु केही भेटिनन् सविताले।  जब आमाले को के भनेर केरकार गर्न थालिन् तब सवितालाई घरको कुरा निमेशलाई सुनाउने आवश्यकता बोध भयो। उनी निक्कै उत्ताउली बनेकी थिइन् त्यो खबर निमेशलाई सुनाउन। घरी सोच्दै थिइन् ‘सिरियस भएर जान्छु, ऊ आत्तिन्छ अनि हाँस्दै सुनाउँछु, आमाले भेट्न खोज्नु भएको छ भनेर।’ घरी फेरि ‘हैन भेट्ने बित्तिकै अँगालो हाल्छु अनि मुस्कान मिसाएर भन्छु– निमेश, आमाले तिमीलाई बोलाउनु भएको छ।’ आफैसँग बात मार्दै अनामनगरको उही रेस्टुराँमा समय अगावै पुगेकी थिइन् सविता। उता समयले अर्कै खेल खेल्दैथियो सायद, निमेशको मनमा अर्कै खिचडी पाक्दै थियो। सविता बिहेको कुरा सुनाउन ब्याकुल थिइन् भने निमेश सम्बन्ध अघि बढ्न नसक्ने कुरा सुनाउन।  निमेश तोकिएको समय भन्दा निक्कै ढिलो आइपुग्यो। यसपाली सविताको मनमा क्रोध भन्दा ज्यादा प्रेम मिसिएको थियो। खुसीले मन भरिएको थियो। छचल्किदै थियो उनको नयनभरी। निमेश नजिक आयो अनि सँगै जिन्दगीको यात्रा तय गर्न नसक्ने कुरा सुनायो। भन्दै थियो “म उस्लाई छोड्न सक्दिन अब” त्यतिन्जेल सविताको आँखामा छचल्केको खुसीलाई आँसुले ओगटी सकेको थियो। कहानीमा निमेशको “ऊ” पात्र को प्रवेश त्यस्बेला भयो जस् बेला सविताको मनलाई अन्तिम सहारा निमेश मात्रै बाँकी छ भन्ने भ्रमले ओगटेको थियो। उस्को जीवनमा दोस्रो पात्र जिवित थियो भने सविताको अस्तित्वको अर्थ के थियो त? जुनबेला सवितालाई सबै भन्दा ज्यादा निमेशको साथको आवश्यकता थियो त्यही बेला निमेश हच्कियो आफूले दिएका सारा बाचाहरुलाई भुलेर। ऊ भित्र पुरानो प्रेमको अस्तु जल्नै बाँकी थ्यो भन्ने कुरामा कहिल्यै ध्यान दिन चाहिनन् सविताले। एक मन सविताप्रतिको प्रेमको भ्रूणलाई हुर्काउन खोज्दै थियो ऊ, अर्को मनमा पुरानो प्रेमको अस्तुले बल्न खोजेको प्रेमको दियोलाई निभाउन खोज्दै थियो। अन्ततः निमेशले जल्न बाँकी अस्तुलाई मनभरी संगाली सवितालाई सम्बन्ध अन्त्य गर्ने निर्णय सुनायो। खुसीको खबर सुनाउन तम्सेकी सविताको परेली आँसुको दहमा चुर्लुम्मै डुबे। एकातिर परिवारको केरकार अर्कोतिर निमेशको घात ! सविता बिल्कुलै एक्ली बनेकी थिइन्। तब केबल आँसुका थोपा, निमेशले पूरा गर्न नसकेका बाचा अनि मनभित्र अमुर्त बनेका यादहरू मात्रै थिए सविताको साथमा।  
००० 
जिन्दगीमा कति यस्ता कुराहरु गरीन्छ जुन आफूलाई सहि लाग्छ तर आफू अलाबा अरुले त्यस्लाई गलतको पगरी भिराइ दिन्छ। हुन त प्रेम कसैको बशमा हुने कुरा त होइन तर आज लाग्छ सविताले निमेशलाई प्रेम गर्नु नै ऊ आफूले कहिल्यै नस्वीकारेको सबै भन्दा ठूलो गल्ती थियो अनि प्रेम गरीरहनु या नगर्न नसक्नु नै ऊ आफैले आफूलाई दिएको सजाय। निमेशलाई पत्तै नदिई उस्को जीवनबाट एकाएक टाढिनु उस्को बाध्यता या रहर जे भए पनि सायद उस्ले बिना कुनै गुनासो निमेशलाई दिएको माफी नै निमेशको सजाय थियो।  अचेल सविता तिनै गल्ली, रेस्टुराँ, अनि पार्कहरु चाहार्ने गर्छिन् जहाँ उनीहरुका पाइलाहरु कछुवाको चाल भन्दा धिमा गतिमा चल्थे कुनै बेला। नजरमा नजर मिसाएर बोलेको बखत दुबैलाई लाग्थ्यो त्यो पवन, वालमा झुन्डीएको घडी, फुरफुर हावाले हल्लाएको पात अनि अरु यस्तै चलिरहेका जीवनिर्जिव बस्तुहरु टक्क अडिउन्, चलुन् त केबल दुई धड्कन एक बनेर। सायद सविता छुट्टाउन खोज्दै छिन्, ती विगतहरुले उनलाई खुसी ज्यादा दियो या पीडा। कसैले सही भनेका रैछन्, अक्सर तिनैले रुवाउँछन् जस्ले हाँस्दा तिमी सुन्दर देखिन्छौ भनिदिन्छन्।   ००० 
सविता मगाएको स्मल साइज पिज्जाको अन्तिम टुक्रा चपाउन लाग्दै थिइन्। मैले अड्कल काँटे कुनै दिन अति वितृष्णा जाग्ने मसरूम पिज्जाको पनि पारखी बनेकी सविताले एक दिन सजिलै पिउनेछिन् निमेशले दिएका घात र चोटहरूलाई पनि। लाग्छ अन्त्यमा उनी निमेश भन्दा ज्यादा खुसी बन्नेछिन् किनकि उनले अरुको खुसी खोसेर आफ्ना खुसीहरुका जन्त जाने निर्णय कहिल्यै लिइनन्। 
००० 
पिज्जाको पैसा तिरेर उनी आफ्नो बाटो लागिन्। भित्र भने स्टेरियोमा बच्चु कैलाश गुन्जिँदै थिए–  
“कहीँ गएर अल्मलिएर भुलेर बसुँला 
कहिलेकाहीँ सम्झना आए रोएर टारुँला । 
टाढा टाढा जानु छ साथी एकफेर हाँसी देऊ   
छुटी सकेको मायालाई साथी एकफेर गाँसी देऊ।”

पहिलो पोस्टमा प्रकाशित मिती २६ भदौ २०७२
 http://www.pahilopost.com/content/-7683.html#sthash.qj3k5nAk.dpuf

Thursday, September 10

आखिर भल्गर केलाई भन्ने?

“ओहो ! यिनले त भल्गर कविता लेखेर चर्चा बटुलीछिन्।” सेतोपाटीमा छापिएको ‘निर्दोष भ्रुण’ पढिसकेपछि मेरा नजिकका मानिने साथीहरूबाटै पनि यस्तो प्रतिकृया पाएँ। म अलमल्ल परेँ यसलाई म आरोप मानौ कि कम्प्लिमेन्ट?
एक हप्ता अगाडि छिमेकी दिदीको बारेमा एउटा घटनाको विषयलाई लिएर जोडतोडले हल्ला मच्चियो।  “थाहा छ, फलानीको छोरीले त पाप बोकेर आइछे, बिहे नगरी पेट बोकिछे।” यिनै शब्दहरूले मेरो मनस्थितिलाई यसरी जकड्यो कि मैले कविताका रूपमा ‘निर्दोष भ्रुण’ लिपिबद्ध गर्ने निर्णय लिएँ। मैले आफ्नो मनमा उब्जेका कुरालाई बिना हिचकिचाहट उतार्न चाहेँ, आफ्नो मानस्पटलमा मच्चिएको हलचललाई शब्दमा पोखेँ। उनको (घटनाकी पात्र) आक्रोशित मन अनि समाजको आँखामा आफूले आफैंलाई जर्बजस्ती दोषी मान्न निम्ताएको परिस्थितिलाई केहि हदसम्म प्रकट गर्न खोजें। सायद त्यसैले म मेरा साथीहरूको नजरमा असामाजिक भएँ। पक्कै त्यसैले मलाई भल्गर कविता लेखेर चर्चा बटुलेको आरोप लगाए। 
आज ती दिदी र म एकै ठाउँमा उभिएको महसुुुस गर्दै छु। आफूले गरेको कामलाई जवर्जस्ती गल्ती मानेर उनले आत्महत्या गरिन् भने म त्यसलाई आत्महत्या हैन हत्या मान्छु। अनि मैले लेखेको कविताको आधारमा मेरो चरित्रको मूल्याङ्कन गरिन्छ भने त्यो मेरो चरित्रहत्या हो भन्ने ठान्छु।
कविताको प्रतिकृया स्वरुप धेरैले मलाई मनैदेखि प्रेरणाको शब्दमाला पहिराइदिनु भयो। धेरैले समाजिक बिषयबस्तुलाई उठाएर समाजको अगाडि प्रश्नचिन्ह खडा गर्दिएकोमा धन्यवाद पनि दिनुभयो। तर, कति त्यस्ता मुहारहरू पनि भेटिए जसले अगाडि वा वाइ पिटेर पछाडि मेरो लेखनमा धावा बोल्नु भयो। कतिले ममाथि मजाकमै शंकालु प्रश्न थमाए– “कथा तेरै होे कि अरु कसैको?” मुस्काउँदै मैले उत्तर दिएँ “किन यो घटना पहिलोपटक मेरो कविता मार्फत थाहा पायौ र? किन समाजमा त यस्ता घटना छरपस्ट देखिएका/सुनिएका छैनन् र?” हामी आफूले आफैलाई कति सजिलै विकसित समाजका आधुनिक पात्र भन्न तम्सिन्छौँ। तर, हामीलाई समाजमा घटेका असमाजिक र अमानवीय विषयहरू उठाउँदा अझै अपाच्य हुन्छ। आखिर किन हामी एकाइसौँ सताब्दीसम्म आइपुग्दा पनि हाम्रो सोच र मनस्थिती त्यही ढुङ्गेयुगबाट माथि उठ्न सकेन? कथा मेरो पक्कै होइन तर समाजले सोच्नै पर्ने हामीले देख्दै आएको सामाजिक यथार्थ घटना होइन र त्यो? 
मैले लेखेको ‘निर्दोष भ्रुण’ कविता सेतोपाटीमा प्रकाशित भएपछि मेरो बाबाले पढ्नु भयो, आमालाई आफैले वाचन गरेर सुनाएँ। मेरो दादा आफैले शेयर गर्नु भयो। पक्कै म गलत थिएँ भने बाबाले अझै राम्रो लेख्न हौसला दिनुहुन्थेन। आमाले खुसी हुँदै काँध थप्थपाउनु हुन्थेन। दादाले दुई थप्पड हानेर आपत्ती जनाउनु हुन्थ्यो होला। तर आफ्नै परिवारको त्यो साथले म गलत नभएको पुष्टी गरिरहेको छ। अनि आफू सही छु भनेर कसैलाई प्रस्ट पारिरहन वा स्पष्टीकरण दिइरहन जरुरी ठानिन मैले। 
कुनै कुरा पढ्नु अघि यो बुझ्न जरुरी छ, भावनाहरू मनबाट निसृत भएपछि शब्दका रूपमा उतार्न सकिन्छ। तर यो आवश्यक छैन कि आफैले भोगेको कुरा मात्र भावना बनेर आउँछ। अरुको भोगाईलाई उजागर गर्ने कोशिस मैले पनि गरेँ अनि भल्गरको उपनाम पाएँ। समाजमा कुरीति फैलिने अपाच्य उच्छ्रृङ्खल अनि अश्लील कृयाकलापलाई मुस्काउँदै स्वीकार गर्छौ, अनि त्यसको विरोधमा आवाज उठाउँदा चाहिँ अपाच्य हुन्छ हामीलाई। आखिर भल्गर केलाई भन्ने त?
कुनै सकारात्मक कुरालाई पनि नकारात्मक ढङ्गले बुझ्ने र सोच्ने मानिसको मानसिकता चाहिँ रोगी र भल्गर लाग्छ मलाई। अनि समाज वा देश बदलिनु पर्छ भन्नेहरूले पहिले आफ्नो सोच बदल्न सक्नु पर्छ। त्यसो भयो भने पक्कै सुन्दर समाजको कल्पना गर्न सक्ने थियौँ हामीले।


सेतोपाटीमा प्रकाशित मिति: शुक्रबार, पौष २५, २०७१

http://setopati.com/blog/22553/

उत्तर

म कुर्छु भन्थ्यो
मलाई कुराएर आयो ऊ !
अस्ताउदो सूर्य सँगै
अस्ताउदै थियो मेरो मुहार !
अलिकति रिसाए झै 
रिसमा मुस्कान मिसाए झै !

थांती बसेका अनेकौ मनका भारीहरु
बिसाउनु थियो उस्लाइ 
अलीकती गाजलु आँखाको डीलमा
अनि अलीकति यो मनको बलेसिमा
कतै जीवन बुझाउने चाहनाले
कतै आफुलाइ चिनाउने रहरले !

कालो छ भन्थ्यो आफ्नो भूत उसले
चियाउने कोशिस गर्दै थियो 
मेरो मनको आँखाले 
देख्यो, अं देख्यो सानो प्रकाश 
अध्यारोमा अझलेको उसको अतीतमा पनि 
आखिर रातमै त देखिन्छ जूनको उज्यालो !
त्यों जूनको शीतलता !

उसको बिगत नियाल्न
प्रयासरत  चोइटिएको आफ्नो मनलाइ
आफैले प्रश्न गरें अनि
"के सांचै प्रेम गर्न सकछस् तँ ,
स्विकारेर उसको कक्टेल जीवनलाइ?"
त्यति नै बेला 
म आफ्नो एक मुठी मुस्कान घुट्काउदै थिएँ 

जीवन एक क्याक्टस

भनिन्छ “हिजो जो गैसक्यो त्यसलाई सम्झेर निराश नहुनु अनि भोलि जो आउनै बाँकी छ, त्यसलाई सम्झेर नआत्तिनू। भूतलाई र भविष्यलाई सम्झनु केवल समयको बर्बादी मात्र हो।” तर वर्तमानलाई भूतले डोर्‍याइरहेको हुन्छ अनि भविष्यलाई वर्तमानले। कालहरू एक अर्कासँग यसरी जोडिन्छन् अनि म कसरी भुलौँ त्यो अतितलाई जसले मेरो आजलाई मसँग ठोक्काएको छ? म त भन्छु ‘भोलि’ जिउन ‘हिजो’लाई कहिल्यै बिर्सनु हुँदैन।

लाग्छ भूत साँच्चिकै भूत जस्तै हुन्छ, तर्साउँछ, सताउँछ, दुखाउँछ अनि रुवाउँछ पनि। तर यति याद राख्नु पर्छ त्यही भूतको डरले नै पीडा भुलाएर आजसँग हाँस्न सिकाउँछ भोलि सम्झी जिउन सिकाउँछ। यसरी बुझ्दा त एउटा जिन्दगी यिनै कालहरूसँग जोडिएर बनेको हुने रहेछ।
जीवन सरल छ उच्चारण गर्दा, त्यति नै सरल लाग्छ, सरल तरिकाले बुझ्न खोज्दा। तर जति जति गहिराई खोतल्दै गयो त्यति त्यति जटिल जटिल बनिदिन्छ जिन्दगी। जीवनका परिभाषाहरू अलग अलग छन् त्यस्तै अलग अलग हुन्छन् जीउने बहाना र तरिकाहरू पनि। कहिलेकाहिँ फूलहरू, ताराहरू, पवन, आकास, जून, झरी यस्तै प्रकृतिका सुन्दर नमूनाहरूसँग बात मार्दा म खोतल्ने गर्छु जीवन जिउनै पर्ने कारणहरू र त्यही कारणको खोजी गर्नु नै जीवन जिउने मिठो बहाना बनेर आइदिन्छ निष्कर्षमा।

मानिसहरू झुकिन्छन् एउटा प्रश्नमा आएर, हामी आखिर बाँच्नको लागि जिउँदै छौँ या मर्नको लागि? अन्तिम विन्दु नियाल्ने हो भने त हामी मृत्युकै लागि संर्घष गर्दैछौँ न कि जिउनका लागि। जीवन भ्रमहरूकै आँखीझ्याल हो। हामी रुन पर्ने कुरामा हाँस्छौँ अनि हाँस्न पर्ने कुरामा रुन्छौँ। हामी आजीवन संघर्ष गर्छौँ सन्तुष्टीका लागि। के मृत्युले कहिले सन्तुष्टिको मापन गर्न सक्ला र? खै मलाई लाग्दैन मृत्युसँग कोही सन्तुष्ट हुन्छ। तर आखिर सत्य त त्यही मृत्यु मात्र हो जीवन त दलदल हो भ्रमहरूको सञ्जाल हो।

नियति छ जीवन बनाउने। कुनै जीवनलाई रङ्गीन क्यानभाषमा बनाउँछ कुनैलाई श्यामश्वेत पाटीमा, त्यसैले त होला नि आफ्नो जीवनलाई नजिकबाट नियाल्दा कसैले रङ्गीन भेट्टाउँछन् कसैले ब्लाक एन्ड ह्वाइट। यही कारणले होला जीवनको परिभाषा भोगाइ पिच्छे नै भिन्न भिन्न बनेको।

मानिसहरू जीवनलाई सुन्दर फूलहरूसँग तुलना गर्छन। कोही काँडाबीच फुल्ने गुलाब भन्छन् जीवनलाई, अनि कोही हिलोबीच फुल्ने कमल मान्छन्, बुझाई आ–आफ्नै हो।

मानिस स्वभावैले स्वार्थी हुन्छ। आकाङ्क्षासँगै बढ्छ मान्छेको स्वार्थपन पनि। ऊ आफ्नो जस्तै दुख अरुको देख्दा रमाउँछ। आफ्नो जस्तै पीडा अरुको देख्दा उसको दुख कम हुन्छ अनि त्यही दुख, चोट, पीडा, वेदना, आँसु जस्ता काँडाहरूलाई आफूभित्रै जोडेर पनि मुस्काउन सिक्दछ। त्यसैले मलाई लाग्छ मानिसको जीवन मरुभूमिमा पानी बिनै पनि फुल्न सक्ने हरियो काँडे क्याक्टस जस्तै हो जो अरुलाई दुखाउँदा पनि फुलिरहन्छ अनि हाँसिरहन्छ। 

पहिलो पोस्टमा प्रकाशित मिती २३ जेठ २०७२

पिँजडा

पुस्तौँ पुस्तादेखि
पिँजडामा बन्द म छोरी
केही वर्षपछि
यो पिँजडाबाट
सरुवा गरिनेछ मलाई।
 
म जान्दिन,
त्यो अझ ठूलो हुन्छ
या यत्तिकै सानो
कि त यो भन्दा अझै सानो।
 
यो पिँजडाबाट त्यो पिँजडामा
सिर्फ सारिन्छ वा, साटफेर गरिन्छ 
तर पक्कै भेट्टाउने छैन मैले
आफ्नो स्वतन्त्रता त्यहाँ पनि।
 
कयौँ सम्बन्ध निभाउनु पर्ने होला
कसैकी पत्नी
कसैकी बुहारी
कसैकी भाउजू
अँ कसैकी आमा पनि
तर अहँ म नितान्त ‘म’ बन्न पाउने छैन।
 
आफ्ना थाँती बसेका रहरहरू
असहाय टुहुरा बनेर छट्पटाउने छन् 
समाजले घेरेर राखेको पर्खाल
आँट र साहस बोकेर नाघ्न मनाही हुन्छ।
 
पटक पटक, हरेक पटक
मेरो बिफलताले मैलाई गिज्जाउने छ
पिँजडाको मालिक
अझ भनौँ त्यहाँको संरक्षक,
‘मेरो समाज’ ले मलाई
बन्द पिँजडामै सजाउने छ।
 
म हाँस्दा उत्ताउली हुन्छु अरे
म नाच्दा अराजक बन्छु अरे
खुलेर बोल्दा चरित्रहिन
बोल्दै नबोल्दा घुसघुसे अरे
थाहा छ किन?
किनकि म छोरी भएर जन्मिएँ अरे।
 
भन ए सभ्यता र स्वतन्त्रताका पुजारी हो !
यो निर्मम पिँजडा भत्काउने कहिले हो?

पहिलो पोस्टमा प्रकाशित मिती ५ असार २०७२
http://www.pahilopost.com/content/-5106.html#sthash.NrNtbWLI.gbpl&st_refDomain=www.facebook.com&st_refQuery=/

भो, मलाई चाहिँदैन आरक्षण

साँझ फेसबुक खोल्ने बित्तिकै महिला मित्रको स्ट्याटसमा आँखा ठोक्कियो। लेखिएको थियो– म पुरुष समान भएकाले महिला भएकै कारण कोटा चाहिँदैन। भनाइ घत पर्योट अनि फर्काएँ- म समानता खोज्छु भने म पनि पुरुष समान सार्वजनिक यातायातका साधनमा उभिएरै यात्रा गर्न सक्छु, म महिला हुँ, मलाई पनि आरक्षण चाहिँदैन।
वास्तवमा भन्ने हो भने आरक्षणले मानिसलाई कमजोर बनाउँछ। हामी एकातिर समान हक र अधिकारका कुरा गर्दै हिँड्छौँ अनि अर्कोतिर आरक्षणको भिख पनि माग्दै हिँड्छौँ। यो लज्जास्पद होइन र? हो, प्रकृतिले शारीरिकरूपमा महिलालाई भन्दा पुरुषलाई सवल बनाएको छ। यसको अर्थ यो हुँदै होइन कि हामी केही समयको यात्रामा उभिने सामर्थ्य नै राख्दैनौँ। महिलामा आइपर्ने कतिपय शारीरिक समस्याको ज्ञात जो कोहीलाई पनि छ। आफूलाई समस्या परेको बखत कसैसँग सहयोग माग्दा जो कोही पनि सहयोग गर्न अघि बढ्छन्। यो सँगै जोडौँ सार्वजनिक यातायातमा सल्बलाउने गिद्धे नजर र हातहरू पनि। महिलामाथि हुने यस्ता दुर्व्यवहारहरूको समाधान पनि आरक्षण पक्कै होइन। नेपालको फितलो कानुन त्यसको मुख्य कारण हुन सक्छ। आरक्षणले हामीलाई भाग्न त सिकायोे सँगै त्यस्ता राक्षसी प्रवृत्तिको सामना गर्ने हिम्मतलाई पनि त्यही सिटमुनि बाँधिदियो।

समानताको वकालत गर्दै हिँड्ने कति महिला अधिकारकर्मीले त डलरकै खेती गर्ने व्यवसाय बनाएका छन् आरक्षणलाई जो स्वयम् पुरूषबाटै सञ्चालित रोबोट बनेका छन्। सुन्दै हास्यास्पद लाग्छ, सहरमा गुड्ने बसमा आरक्षणको निहुँमा किचकिच गर्दै हिँड्नेहरूले कहिल्यै गाउँका कच्ची बाटोमा घण्टौँ यात्रा गर्ने महिलाको मर्म बुझेका छन्? खै त यो हक र आरक्षण अनि समानता चाहिँ गाउँका महिलालाई? आरक्षणको आवश्यकता त्यहाँ छैन? यहाँ महिला भएकै कारण अन्य कुरामा पुरुष समान बनाइनुपर्ने भाषण दिइन्छ, अनि तिनै किन सरकारी निकायमा लाजै नमानी महिला कोटाबाट सरासर नाउँ निकाल्ने अड्डी कस्छन्? दमाइँलाई दमाइँ भन्दा लाज लाग्छ तर त्यही थर बिकाएर ऊ कोटामा जागिर खान्छ। किन भन्न सक्दैनन् हामी समानता चाहन्छौँ भने हामीलाई कोटा चाहिँदैन, खुलाबाटै लडेर पनि अघि आउन सक्छौँ भनेर?

हामीलाई महिला भएकै कारण आरक्षण आवश्यक छैन। पक्कै पनि कहिलेकाहीँ महिलामाथि आइपर्ने विकराल परिस्थितिलाई आरक्षणले राम्रै सुविधा दिएको छ तर त्यस्तो विशेष परिस्थिति पुरुष साथीहरूलाई कहिल्यै आइपर्दैन होला र? के हामीमध्ये कसैले यी कुरामा कहिल्यै ध्यान दिएका छौँ? मैले धेरै पटक सार्वजानिक यातायातमा चढेर यात्रा गर्दा देख्ने गरेकी छु दयनीय दृश्य जहाँ महिला आरक्षण सिटमा बसिरहेका राम्ररी उभिनसम्म गाह्रो पर्ने वृद्ध पुरूषलाई उभ्याएर कलेज पढ्ने उमेरका दिदीबहिनीलाई बसाइन्छ। के कहिल्यै हामीले पाएको सुविधाको सही ढङ्गले उपयोग गरेका छौँ? ती वृद्धलाई उभ्याएर सवल हामीले सजिलो गरी यात्रा गर्नु जायज हुन सक्छ?

सबैभन्दा पहिले हामीले यो बुझ्न जरुरी छ– समस्याले कहिल्यै आरक्षण छुट्टाउँदैन। महिला, पुरुष, दलित, जनजाति जो कोहीलाई पनि समस्या आइपर्न सक्छ। महिलालाई महिला भएकै कारण समस्या पर्ने त्यसैले आरक्षण चाहिने अनि पुरुषलाई पुरुष भएकै कारण समस्या नपर्ने सोच नै गलत छ। भलै समस्याका प्रकार अलग होलान्। यति बुझेर हेर्ने हो भने हामीमध्ये कसैलाई पनि आरक्षण आवश्यक पर्दैन, यदि अप्ठेरो परिस्थितिमा महिलाले पुरुषलाई अनि पुरुषले महिलालाई सहयोग गर्न अघि सर्ने हो भने। साथै सामाजिक र नैतिक शिक्षाको पनि त्यति नै आवश्यकता छ। आरक्षणका नाममा हाम्रो देशका एनजिओकर्मी दिदीबहिनी जति सक्रिय हुनुहुन्छ र आरक्षणका निम्ति डलरमार्फत जुन 'चेतना' निर्माण गरिरहनुभएको छ, त्यस्तो 'उन्नत' चेतनाले कमसेकम मलाई भने फिटिक्कै छुन सकेको छैन। त्यसैले हो, म महिला हुँ तर म
पुरुष समान जिउन चाहन्छु भने पुरुषले झैं झुन्डिएरै यात्रा गर्न सक्छु। मलाई केवल महिला भएकै कारणले आरक्षण चाहिँदैन।

नागरिक दैनिकमा प्रकाशित मिती २२ भाद्र, २०७२

My Blog List

Powered by Blogger.