Wednesday, April 8

धुन टुटेको प्रेमगीत

सलेदो सकिएको मैनबत्ती जस्तै
तेल सकिएको दियो जस्तै
धिपधिप धिप्धिपाउने
अधुरो अपुरो रहेछ ऊ त ।

नचाहेरै गएथेँ म प्रेमिल रङ्ग ओर छोडेर
अनौठो एउटा क्यान्भास बोकेर
पोतिदियो अनेकौँ रङ्गले तर
खुद स्यामश्वेत जिन्दगी जिउँदै रहेछ ऊ त ।


आफ्नै सुगन्ध नठम्याउने कस्तुरी बनी
खोज्दै थिएँ प्रेमको सुवास त्यसरी म पनि
भेट्टाएँ त्यहाँ फालिएका धेरै प्रेमका भ्रुणहरू
छ्या दुर्गन्धित दुर्गन्धित रहेछ ऊ त ।      


अनि फर्किएँ त्यहि बाटो एउटा विश्वास लिएर
कल्पनाले रङ्गीन जिन्दगीलाई गिज्याउँदै थियो
स्वीकार्य थियो तितो, नमिठो सत्य पनि
तर, मेरै लागि एउटा मिठो प्रेम मुस्काउँदै थियो ।


सेतोपाटीमा प्रकाशित मिति: बिहीबार, चैत्र २६, २०७१ ०९:४६:३३

http://setopati.com/sahityapati/26711/

Thursday, April 2

निर्दोष भ्रुण

यौवनको प्यासमा लिप्त 
आफ्नो प्रेमको तृष्णा मेट्न 
सम्साझै एक युगल जोडी 
हुर्रिन्छन् हाइवेबाट थोरै पर 
सानो जंगल सानो कटेराे
अनि त्यो अव्यवस्थित प्रेम।

सम्झदैनन् आफ्नो प्रेमको दायरा 
बुझ्दैनन् एक बिन्दुमा पुगेर सकिने सीमा 
नाङ्गिएको आत्मा सँगै नाङगिन्छन् 
आफू आफू एकअर्का सामू 
न त रोक्न सक्छ समाजको बन्धनले 
न त रोक्न सक्छ त्यो अत्तालीएको मनले।

सामाजिक बन्धनलाई तोडेको खुसी, 
आफ्नो तृप्तीको 
नौलो चमक अनि 
सुनौलो स्पर्श बोकेर 
फर्कन्छन्। 

चिन्दैन अविवाहित प्रेम त्यस्ले 
बुझ्दैन आफ्नो अघोषीत बाबुको धोका 
बस् बास बसिदिन्छ त्यो भ्रुण; 
स्वघोषित चोखो प्रेमको सौगातले 
ठम्याउदैन आफ्नी आमाको 
अविकशित पाठेघर। 

अनि, 
ऊ नजन्मिदै, उस्को हत्याको 
षड्यन्त्र रचिन्छ कतै,
ऊ भगवान्ले दिएको वर्दान हुदैन, 
कीन कि ऊ एक चिम्टी सिन्दुरको 
आडले जन्मेको हुदैन। 
ऊ त मात्र आफ्नी आमाको 
गल्तीले हुर्केको भ्रुण हुन्छ। 

म बुझ्दिन,
किन लाञ्छना लगाइन्छ उस्की आमालार्ई
त्यो मात्र उस्की आमाको गल्ती कसरी भयो?
अझ बुझ्दिन,
प्रकृतीले स्वीकारेको सत्य 
गलत कसरी भयो?
ल मानौ त्यसलाई गलत नै 
तर कुन हकले यो समाजले उस्लाई पाप कहलाउँछ?
खै उस्को कुन गल्तीले, ऊ पाप ठहरीन्छ?

सेतोपाटीमा प्रकाशित मिति: मंगलबार, पौष १५, २०७१

http://setopati.com/sahityapati/22105/

जिन्दगीः भ्रमहरूको आँखीझ्याल

मेरो दिलकी दिलाशा। मेरी प्रिय छोरी दिलाशा। 
काखभरी छ, मन भरी र मेरो तनभरि छ, मेरो रक्तका कणकणमा छ। तर उसलाई एकरत्ती थाहा छैन, उसकी आमा म कस्तो तिक्त स्मृति पालेर बाँच्न सकेँ, उसलाई जन्माउन सकेँ। 
सिर्फ दिलाशालाई अमृत पान गराउन मैले नियति र बाध्यताका सैकडौँ घुटका विषपान गरेँ, उसले अनुमाननै गर्न सकेकी छैन। अहिले त जीवनको लालुपाते फक्रिन लागी ऊ। त्यसैको आभा अनुभूत गरिरहेकी छु आज।
***
हिजो– जो अब धूमिल स्मृति मात्र बनेको छ मेरो मनको आकाशमा। स्मृतिका पानाहरू एक एक गर्दै पल्टाउँदा कहिँकतै महसुस हुन्न यादहरू मैलिएका या धमिलिएका। 
मैले जिन्दगीमा के के चाहेँ अनि के के पाएँ त ? पाएको कुरा चाहना थियो त ? चाहेको कुरा प्राप्त भयो त ? या पाएको कुरा चाहना हो त ? चाहनाको मापन कसरी गर्ने भन्ने कुरामै अल्झिइने रहेछ जीवनको महत्वपूर्ण आयाम। अहँ आज कहिँकतै गुनासो छैन जिन्दगीसँग। जिन्दगी खुशी छ, खुद आफैसँग। 
कहिले आफैलाई गिज्जाउँदै हाँस्छ त्यो, कहिले आफैसँग दया जागेर रुन्छ। रुँदा पनि कहिले भक्कानिएर रुन्छ त कहिले सुँक्सँुकाएर रुन्छ। कहिले गब्बर हाँसो हास्छ, कहिले शालीन मुस्कान मुस्काउँछ। 
यिनै कारणहरूले जीवन जीवन्त रहेको प्रष्ट पार्छ। कहिले हाँसेर रमाउँछ, कहिले रोएरै पनि रमाउँछ। हो, तर कतै गुनासो छैन जिन्दगीलाई आफैसँग। 
पाएको कुरामा सन्तुष्ट छ। कति कुरा पाउँदा पाउँदै पनि गुमायो त्यसले, कति कुरा गुमाउँदा गुमाउँदै पनि पायो। कति कुरा पाएरै पनि गुमायो कति गुमाएरै पनि पायो। कहिले जिन्दगी रुन पर्ने बेला रोएन बरु हाँस्यो, कहिले हाँस्नु पर्ने बेला हाँसेन रोयो। 
कहिले रुवाएर हाँस्यो, कहिले रोएर हँसायो। आखिर जिन्दगी सुख र दुःख, चाहना र प्राप्ति, प्रेम र तृप्ति, भोग र अभाव, नियति र सम्झौता, अनि हाँसो र आँसु यिनै भावनाहरूमा सीमित रहने रहेछ। 
जिन्दगीले कहिले डुब्न खोज्दा तैरिन सिकायो, कहिले तैरिन जानेपछि पनि डुबाइदियो। तर जे जस्तो भए पनि आज जिन्दगी हाँसेको छ, किनकि त्यसले सम्झौता गर्न जानिसकेको छ। तर कहिलेकाहीँ अतीतमा गुमाएको अर्थहीन कुरामा दया जाग्दो रहेछ मनमनै वर्तमानको मझेरीमा।  
***
अतितका बिस्कुनहरू मनको बार्दलीमा सुकाउदै जाँदा जीवन एक ठाउँमा आएर टक्क अडिन्छ। जीवनले त अन्तरकुन्तर केलाउँदै, निफन्दै अली अली पन्छाउँदै अलि अली सङ्गाल्दै अर्कै कथा लेख्ने रहेछ। 
मेरो सपना र चाहना भन्दा धेरै भिन्न। पन्छाउने क्रममा मेरै सपना र चाहना नचाहँदा नचाहँदै पन्छिएर गए। खै के रीस रैछ जिन्दगीलाई मेरा यावत् सपनाहरूसँग। अधुरो रहने सपना देखिन्छ नै किन? 
आखिर सपना देखाउने, पुरा नगर्ने अनि रुवाउने जिम्मा त त्यही नियतिकै हैन र ? साँचै कति दयाहीन भावनाको हुँदो रहेछ त्यो नियति। आज जे दियो त्यसले त्यो पनि स्वीकार्य छ। नकारेर के गर्नु? 
मसँग स्वीकार्नु बाहेक अर्को विकल्प पनि त कहाँ छ र ? बस् एउटै भ्रम साँच्ने मौका दिएको छ जिन्दगीले, आज खुशी छु तर विगतमा आत्महत्या गरेका त्यो रहरहरू वर्तमानमा जीवित रहेका भए अझै खुशी हुन्थेँ कि म। भ्रम, मात्र एउटा मीठो भ्रम।  
मनको आँखीझ्यालबाट विगत चिहाउँदा बतास बनेर स्पर्श गर्छ उसको सम्झनाले। के भनेर सम्बोधन गरूँ उसलाई जो मेरो हैन। या भनुँ जो मेरो कहिले भएन, या भनुँ जसलाई  नियतिले कहिले मेरो बन्न दिएन।
जिन्दगीको क्यानभाषमा उतार्न नसकिएको त्यो तस्वीर मनको क्यानभाषमा भने प्रष्ट देखिने गरी गाढा बनेर उत्रेको रहेछ। खैर, त्यो स्पर्श जसले गर्मीमा शितल महशुस गराउँथ्यो, जाडोमा न्यानोपनको आभास गराउँथ्यो। 
त्यही महशुसले कहिले निकै आत्मीय बनाउँथ्यो अनि कहिले निकै बिरानो मानौ कोही अपरिचत झै। कतै ऊ परिचित हुँदाहुँदै पनि अपरिचित थियो, कतै अपरिचित हुँदाहुँदै पनि परिचित। 
त्यही परिचित र अपरिचितको दलदल जस्तोमा फँस्दो रहेछ जिन्दगी अनि कालान्तरमा केवल याद मात्र कालजयी बन्दो रहेछ वर्तमानको धरातलमा। 
कुन यादको सम्झना गर्नु? जुन आफ्नो कहिले थिएन। कसरी मानौँ म आफ्नो थिइँन भनेर। मेरो मन, मस्तिष्क, समय, कर्तव्य, सपना, चाहना अनि अरु अरु जे जे थियो सबै त्यही यादले हरण गरेर लगेको थियो। 
कुन याद, कुन सम्झना मेरो भनौँ या अरु कसैको? आफ्नो भनौँ, आफ्नो होइन। अरुको मानौ आफ्नो नभएको कुराको सम्झना किन ? त्यसो भए ऊ को हो त मेरो ? अनि म को हो त उसको ? प्रेमी ? कसरी भनौँ प्रेमी ऊ प्रेम गर्दैनथ्यो मलाई। नत्र के साथी ? अहँ, साथी हैन ऊ। म प्रेम गर्थे उसलाई। 
हो, हद पार गरेर प्रेम गरेँ उसलाई। त्यसो त सायद सम्बन्धहीन सम्बन्ध थियो त्यो।  कति प्रश्नहरू त जीवनभरीलाई अनुत्तरित राखिरहने रहेछ जिन्दगीले। जिन्दगीको पँधेरीमा रित्तै जाने हो तर कहिले भरेर पठाउँदैन रहेछ। 
कहिले भर्दाभर्दै मुहान सुकाउँदो रहेछ। कहिले भराएर पोखाउने रहेछ। उही आधी–अधुरो अपूरो रहेर मुस्काउनु पर्ने बाध्यता। तर जे होस् जिन्दगीले सिकायो मुस्काउन, भरी रहँदा भारी हुन्थ्यो, अपूरो हुँदा हुलुङ्गो भयो। यसरी सकारात्मक बन्न सिकायो जीवनले। 
म उसलाई गुमाएँ भन्छु तर ऊ गुम्यो कसरी? ऊ मेरो थियो नै कहिले? म पाइन भन्छु उसलाई चाहेको थिएँ र कहिले ? बस् रोजेको थिएँ अन्तरआत्मादेखि नै। 
त्यो मेरो वसमा थिएन। रोज्न नपाउने रोक थिएन मलाई अनि मलाई चुन्नैपर्ने कर थिएन उसलाई। मनको अदालतले मलाई न्याय ग¥यो सधै गरिरह्यो तर समयको कठघरामा उभिँदा म हारेँ कतै उसलाई जिताउने रहरले हारे कतै जित्ने रहर हुँदा हुँदै पनि हारेँ। 
कतै आफू हार्नै पर्ने समयको खेलले हरायो कतै मेट्न नसकिने लेखिएको नियतिले। हार्नु मेरो नियति थियो, हारेर पनि मुस्काउनु पर्ने कतै मेरो बाध्यता अनि ऊ जितेको खुशीमा रमाउने कतै मेरो रहर। 
***
सोचे जस्तो केही भएन। जिन्दगी सोचेकै जस्तो भए त कहाँ जिन्दगी कहलिन्थ्यो र ? यहाँ सोचेको कुरा हुँदैन नसोचेको कुरा हुन्छ। यहाँ चाहनाले केहि नाप्दैन नियतिले गर्छ जे गर्नु छ। 
हुन पनि डोकोमा दुध अट्ने आशा र विश्वास राखेर पनि के औचित्य। मेरा रहरहरू ऊबाटै सुरु भएर उसमै अन्त्य हुन्थ्यो। मेरो वर्तमान ऊ थियो अनि कल्पना भित्रको भविष्य पनि ऊ। मेरो चाहना ऊ थियो प्राप्तिको अन्तिम बिन्दु ऊ। 
तर, म न त उसको वर्तमान बन्न सकेँ, न त उसका आँखाले मसँगको भविष्य देख्न चाह्यो। मेरो सुरुवात नै ऊ थियो अनि अन्त्य पनि तर म त सुरु हुनुअघि नै अन्त्य बनेकी थिएँ। ऊ आफूलाई मेरो प्रेमको लायक सोच्दैन थियो म उस्लाई झन् रित्तिएर प्रेम खन्याउँथे। पर्खनु बाहेकको विकल्प थिएन किनकि अब बाँकी केही थिएन। प्रेमको अर्को रूप समर्पण। ऊ प्रतिको समर्पण नै मेरो चोखो प्रेमको निसानी बन्यो।
आखिर पर्खाइलाई केले मापन गर्ने त ? यो सही हो कि प्राप्तिकै लागि पर्खिने हो तर प्राप्तिको चाहले पर्खनु त स्वार्थ भएन र? प्रश्न उठ्यो पर्खने कहिलेसम्म ? प्राप्तिको चाह बिनाको पर्खाइको के औचित्य ? मान्थेन मन तर मनाएँ जर्बजस्ती मनाएँ नचाहेरै मनाएँ। हो यहीनिर चुकेँ म, पुन हारेँ। मेरो समाजिक परिवेशले हरायो मलाई, फेरि त्यही नियतिले हरायो। जिन्दगीको अर्को नाउँ सम्झौता हो। अनि मैले सम्झौता गरिदिएँ। सम्झौता आफैसँग, आफ्नै मनसँग जसको मनोकाङ्क्षा विशाल थियो।
***
अतीतका त्यो पलहरू नयनका डिलबाट सुइँकुच्चा ठोक्न लालयित थिए। दिलाशाको चिच्चाहटले म झस्किएँ। ती अश्रुदानाहरूलाई नयनकै कुनै कुनामा पुनः कैद गरेर ऊतिर फर्किएँ। 
मेरो भ्रमरहित् वर्तमान, त्यो सपनामा नअटाएको मेरो वास्तविकता मेरी छोरी, मेरी दिलाशा। आज छोरीको आवाजमा, आँसुमा, हाँसोमा, आकृतिमा अनि पुकारमा आफ्नो पूर्णता भेट्छु म। दिलाशा मेरो जीवनमा मलाई दिलासा दिन आइन्। साँच्चै यो जीवनमा उनको आगमनले पूर्ण बनाइदियो मलाई। 
कोठा भित्र छोरीको आगमनले मन एकाएक उज्यालियो मैले अतीत बिर्सिएँ अनि महशुस भयो विगतको अति प्रिय ऊ, अहिले ऊभन्दा प्रिय त उसको याद बनेछ। अनि ती यादहरू भन्दा सयौँ गुणा प्रिय आफ्नो जिम्मेवारी। चाहना बिनै प्राप्त भएको यो सुखी वर्तमान। 
उष्णतापूर्वक मेरो अन्तरले भनिरहेछ– जुन नियति भोग्न विवश भएँ म, कमसेकम मेरी छोरी दिलाशाले यस्तो कहिल्यै कहिल्यै भोग्नु नपरोस्। यसखाले भ्रम र दिग्भ्रमहरूको आँखिझ्यालमा कहिल्यै चिहाउन नपरोस् उसले।    

सेतोपाटीमा  प्रकाशित मिति: आइतबार, माघ ४, २०७१

http://setopati.com/sahityapati/22997/

मान्छे/पशु

कसरी मार्न सकिस् तैँले 
हाँस्न खोज्ने रहरलाई 
खिलखिलाउँदै नाँच्न खोज्ने पाइलाहरूलाई।

कस्तो प्यास मेटाइस् तैँले 
चुँडाएर पखेटा नि
उड्न खोज्ने पुतलीको। 

कुन खुसीले नङ्ग्याइस् होला 
पत्रपत्र च्याती तैँले 
त्यो कलिलो मुनालाई। 

लागेन र डर तँलाई आफ्नै आत्मासँग 
कुन सन्तुष्टिले मात्तिइस् तँ
छुँदा सानो कोपिलालाई। 

भन् कसरी तँ हाँसिस् हेर्दै
टुक्रिएको आँतसँगै
क्षतविक्षत अङ्गहरूलाई?

तेरो पशुवत् प्रवृत्ति 
ह्वाङ्गै र उदाङ्गै बनिसक्यो
धिक्कार छ मान्छे भित्रको पशुलाई।

सेतोपाटीमा प्रकाशित मिति: मंगलबार, फाल्गुण २६, २०७१

http://setopati.com/sahityapati/25397/

My Blog List

Powered by Blogger.