यो संसारले एक्काइसौँ शताब्दी टेकिसकेको छ । समय तीब्र गतिमा बदलिई रहेको छ । हिजो घाँस दाउरामा मात्र सीमित हामी महिलाहरू आज बाहिरी संसारमा निस्किएर आफ्नो हक अधिकार र स्वतन्त्रताका लागि आफै बोल्न सक्षम हुँदै गएका छौँ । के यो परिवर्तन होइन र ?
वास्तवमा भन्ने हो भने हाम्रो मनस्थितिमा नेपाली समाज पुरुष प्रधान छ भन्ने कुराको रङ नम्वर सेट भएर बसेको छ । युगौँदेखि नै यही सोच सुम्पिँदै आएका कारणले पनि होला । हिजो साँझको कुरा हो, म घर आइपुग्दा सधैं आइपुग्ने समय भन्दा अलि बढी नै ढिलो भएको थियो । आमाका प्रश्नहरूको वर्षा सुरु भयो । मेरो दाजु म भन्दा अझै ढिलो आइपुग्यो, हामी दुबैको घर ढिलो पुग्नुको कारण एकै थियो अफिसबाट ढिलो निस्कनु, बाटोमा ट्राफिका जाममा फस्नु । तर आमाले मलाई गर्नु भएको केरकार र दाजुलाई किन ढिलो आइस् भनेर सोधिएको एउटै प्रश्नमा आकाश जमिनको फरक थियो ।
यसको कारण के हो त ? आमाको दिमागमा सेट भएको त्यो पुस्त्यौनी सोच । छोरो ढिलो आउँदा कसैले केही भन्दैन तर छोरी अबेर घर फर्किदा समाजले कुरा काट्छन् भन्ने कुरा जिम्मेवार छ । सुरुवात तपाईँ, ऊ, त्यो या समाज भन्दा अगाडि म र हामीबाट गर्ने हो । अरुले के सोच्छ र के भन्छ भन्ने डरले हामीलाई आफैबाट अलग्याएको छ ।
एकैछिन कुरा मोडौँ ती महिलावादीहरू तर्फ, उनीहरू जो महिलालाई अघि ल्याउन पुरुषलाई पछाडि पार्न जरुरी छ भनेर सोच्छन् । समसामयिक दुनियाँमा मैले त्यस्ता विभिन्न लेखहरू पढेकी छु जहाँ पुरुषमाथि यति धेरै गाली गलौजका शब्दहरू प्रस्तुत गरिएका हुन्छन् । मानौ त्यस्ता शब्दहरू लेख्न कलम समाउने वा ल्यापटपको कि बोर्ड थिच्ने औँलाहरूले बिर्सन्छन्– ती औँला वा हातमा उसको बाबुको एक अंश छ, ऊ पनि जो पनि एक पुरुष नै हुन् । मानौ ऊ भोलिका दिनमा कुनै पनि मोडमा पुरुषसँग सहकार्य गर्ने नै छैन ।
म नारी भएरै पनि मेरो मनमा त्यस्ता सोच राख्ने नारीहरूप्रति बितृष्णा जागेर आउँछ । मेरो प्रश्न छ त्यस्ता नारीवादी सोचका ठेकेदारहरूलाई, के तपाईंहरूसँग प्रकृतिलाई चुनौती दिन सक्ने त्यो हिम्मत छ ? जहाँ पुरुषको सहयोग बिना तपाईँ एक्लैले नै यो सृष्टि अघि बढाउन सक्ने खुबी राख्नु हुन्छ ? सँगै त्यस्ता पुरुषहरू पनि छन् जो आफूलाई जन्म दिने आमा पनि नारी नै हुन् भन्ने भुलेर नारीको अस्तित्व लतार्दै लेख्ने गर्छन् । आफू अघि आउन अरुलाई पछि पार्नु पर्छ भन्ने सोच राख्नु नै हाम्रो ठूलो कमजोरी हो ।
पित्रि सत्तात्मक सोच बोकेको समाजमा हुर्केर सम्झदा कोहि तथाकथित महिलावादिहरु बुहारीले सासुको खुट्टा ढोग्दा बुहारी माथीको दमन सोच्छन्, म त्यहि प्रकृयालाई आफ्नो जिवनसाथीलाई जन्म दिने नारीप्रतिको श्रद्दा सम्झन्छु जुन सत्कार र श्रद्दा मेरी भाउजुले पनि मेरी आमालाई गरीदियोस् भन्ने चहान्छु ।
हाम्रो सामाजिक आर्थिक वा राजनीतिक जीवनमा महिला पछि पर्नुको मूल कारक पुरुष मात्रै हो र खालि पुरुष मात्र जिम्मेवार छन् भन्ने सोच्नु हाम्रो अर्को ठूलो भ्रम हो । मलाई लाग्दैन– आजको समयमा कोही शिक्षित पुरुष आफ्नो घरमा त्यस्ती महिलालाई भित्राउन चाहन्छ जो अनपढ छिन् र घरगृहस्थीमा मात्रै सीमित छिन् ।
आफ्नी श्रीमती पढेलेखेकी र बाहिरी दुनियासँग घुलमिल हुनसक्ने खुबी होस् भन्ने चाहना जो कसैसँग पाइन्छ । यस्तो नचाहने कोही हुनुहुन्छ भने उहाँलाई यो परिवर्तनशील समाजको कैफियत माने हुन्छ । बाबु आफ्नो छोरासँगै छोरीलाई पनि राम्रो शिक्षा दिएर सक्षम बनाउन चाहन्छन् ।
बरु महिला आफै महिलाका शत्रु बन्ने गरेका छन् सदियौँदेखि । कहिले बोक्सीको आरोपमा मलमूत्र खुवाउने नारीको रुपमा, कहिले बुहारीमाथि दाइजो नल्याएको आरोपमा निर्घात कुटपिट गर्दै घरबाट निकाल्ने सासूको रुपमा, कहिले पुरुष विवाहित छ भन्ने जान्दा जान्दै पनि उसलाई स्वीकार्ने सौताको रुपमा ।
हो, यी तिनै महिलाहरूको रुप हो– जो आफू महिला भएर पनि महिलालाई नै पछि पार्ने मैला बनेका छन् । सैकडौँ यस्ता घटनाहरूको जञ्जालमा उभिएर पनि अब महिला हेपिनुको कारण पुरुष मात्रै हुन् भन्ने सोच राख्नु कतिको जायज होला ! यो सोचनीय अर्को पक्ष हुँदै हो ।
हो, समाजमा बलात्कार, आफ्नै घरभित्र आफ्नाहरूबाटै हुने गरेको यौन दुव्र्यवहार जस्ता घटना अझै पनि भई नै रहेका छन् । यसको मुख्य कारण फेरि पनि राम्रोसँग कार्यान्वयन हुन नसकेको हाम्रो देशको कानुन हो । यस्ता विषयमा बोल्न आवश्यक पनि छ, आवाज उठाउन जरूरी छ ।
महिला र पुरुष दुबै समाजका अभिन्न अङ्ग हुन् । एकबिना अर्को अपूर्ण नै रहन्छ । एकले अर्कोलाई सहयोग गर्दै दुबै मिलेर अघि बढ्न सके सुन्दर, सभ्य र समृद्ध समाजको निर्माण सम्भव छ । एकपाखे चिन्तन, एकपक्षीय विचार वा दृष्टिकोण बोकेर समाजलाई कसरी अग्रगति प्रदान गर्न सकिएला र !!